मध्यरातमा कालो बोको बलि चढाउँदै प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा कालरात्रि पूजा गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिले अघिल्लो वर्षझैं यस वर्ष पनि मध्यरातमा कालरात्रि पूजा गरेको हो।
क्षेत्र विकास समितिका सदस्य चेतराज घिमिरे, कार्यकारी निर्देशक प्रजिन हाङवाङ र माथिल्लो फेदीका अगुवा होटल व्यवसायी इन्द्रनारायण भट्टराई सहितको उपस्थितिमा ३ हजार ७ सय ९४ मिटर उचाइमा गए मध्यरात कालरात्रि पूजा गरिएको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए।
महानवमी सुरु हुने रातको ठीक १२ बजे पाथीभरा मन्दिरमा कालो बोको बलि चढाएर पूजा गरिएको छ। नवरात्रको महाअष्टमी सकिने दिन र महानवमी सुरु हुने दिनको ठीक मध्यरातमा मन्दिरमा कालो बोको बलि लिएर कालरात्रि पूजा गर्ने गरिन्छ। मन्दिरमा गर्नुपर्ने अरू सबै पूजाविधि सकेपछि मध्यरातमा कालो बोको बलि दिएसँगै कालरात्रि पूजाको अध्याय पूरा हुन्छ।
प्रकाशित: १५ आश्विन २०८२ १०:४५ बुधबार





