१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

जनैपूर्णिमा: संस्कार, ज्ञान र कर्तव्यको पर्व

संस्कृति

जनैपूर्णिमा श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने सनातन संस्कृतिको महत्त्वपूर्ण पर्व हो। नेपालमा यसलाई जनैपूर्णिमा र ऋषितर्पणी पूर्णिमा भनेर चिनिन्छ। काठमाडौं उपत्यकामा यही दिन ‘गुन्हु पुन्ही’ मनाउने परम्परा पनि छ। भारतका विभिन्न क्षेत्रमा यसै समय उपाकर्म (व्रतबन्ध आदि संस्कार) को संस्कार सम्पन्न हुन्छ। नाम र विधिमा केही भिन्नता भए पनि यस पर्वको मूल चेतना ज्ञान, संस्कार, कृतज्ञता, रक्षा, अनुशासन र उत्तरदायित्वसँग जोडिएको पाइन्छ।

यस दिन पुरानो यज्ञोपवीत परिवर्तन गरी नयाँ धारण गरिन्छ। गायत्री मन्त्रद्वारा त्यसलाई संस्कार गर्नुअघि रुद्री पाठ गर्ने परम्परा छ। यसलाई जनै मन्त्रिने कर्म भनेर बुझिन्छ। यसै दिन ऋषिहरूको स्मरण गर्दै तर्पण दिइन्छ। रक्षाबन्धन स्वरूप दाहिने नाडीमा रक्षा सूत्र बाँधिन्छ। कतिपय समुदायमा प्रकृति, जल, कृषि र स्थानीय खाद्य संस्कृतिसँग सम्बन्धित परम्परा पनि यसै दिनसँग जोडिएका छन्। त्यसैले जनैपूर्णिमालाई बुझ्दा यसको प्रत्येक आयामलाई अलग अलग हेर्नुभन्दा तिनलाई एउटै सनातन जीवनदर्शनका परस्पर सम्बन्धित पक्षका रूपमा हेर्नु उपयुक्त हुन्छ।

यज्ञोपवीतको प्राचीन परम्परा

यज्ञोपवीत संस्कृत शब्द हो। यसको सम्बन्ध वैदिक यज्ञ, उपनयन संस्कार र अध्ययन परम्परासँग जोडिएको छ। उपनयनको अर्थ गुरुको समीपमा लगिनु भन्ने हुन्छ। यसको मूल उद्देश्य विद्यार्थीलाई अध्ययन, अनुशासन र संस्कारको जीवनमा प्रवेश गराउनु थियो। त्यसैले यज्ञोपवीत धारण गर्नु प्राचीन शिक्षापद्धतिमा नयाँ जिम्मेवारी स्वीकार गर्ने संस्कारसँग सम्बन्धित थियो।

वैदिक साहित्यमा उपवीत (जनै वा यज्ञसुत्र) धारण गर्ने विधि र त्यसको प्रयोगका विभिन्न सन्दर्भ पाइन्छन्। समयसँगै यसको स्वरूप र सामाजिक अर्थ विकसित हुँदै गएको हो। उपनयनसँग यसको सम्बन्ध बलियो हुँदै गएपछि यज्ञोपवीत ज्ञान, धार्मिक अनुशासन र संस्कारको महत्त्वपूर्ण प्रतीक बन्यो।

तीन सूत्रको जीवनदर्शन

यज्ञोपवीतका तीन सूत्रको व्याख्या विभिन्न परम्परामा फरक फरक पाइन्छ। देवऋण, ऋषिऋण र पितृऋणसँग यसको सम्बन्ध जोड्ने परम्परा विशेष महत्त्वपूर्ण छ।

देवऋणले मानिसलाई जीवन दिने प्राकृतिक र विश्वव्यापी शक्तिप्रति कृतज्ञ हुन सिकाउँछ। ऋषिऋणले ज्ञान, शिक्षा र संस्कृतिको स्रोतप्रति सम्मान गर्न सिकाउँछ। पितृऋणले आफ्नो अस्तित्व निर्माण गर्ने पूर्वज, परिवार र वंशप्रति दायित्व सम्झाउँछ। यसलाई शरीर, वचन र मनसँग जोडेर बुझ्न पनि सकिन्छ। मानिसको चरित्र कर्मबाट मात्र बन्दैन। उसको विचार, बोली र कर्मबीच सामञ्जस्य आवश्यक हुन्छ। यसैले तीन सूत्रलाई आत्मअनुशासनका तीन आयामका रूपमा पनि बुझ्न सकिन्छ।

तीन सूत्रको अर्को गहिरो सन्देश हो, कृतज्ञता। मानिस आफैंमा पूर्ण हुँदैन। अर्थात् उसको जीवनमा प्रकृति, पूर्वज र गुरुको योगदान हुन्छ। मानिसमा समाजको योगदान हुन्छ। त्यसैले मानिसले प्राप्त गरेको जीवनसँगै केही ऋण लिएर आएको हुन्छ। यस्तो ऋणलाई आर्थिक भन्दा पनि नैतिक ऋणका रूपमा लिइन्छ। यसलाई धनले तिर्न सकिँदैन। असल कर्म, ज्ञानको संरक्षण, परिवारको सम्मान र समाजको सेवाबाट यसको परिपूर्ति गर्न सकिन्छ।

६ सूत्रको विशेष महत्त्व

पछिल्लो समय यज्ञोपवीतका ६ सूत्रको परम्परा दृढ हुँदै गएको पाइन्छ। विशेषतः विवाहपछि कतिपय समुदायमा तीन सूत्र थपेर ६ सूत्र भएको यज्ञोपवीत धारण गर्ने चलन थियो। अहिले भने प्रायः सबै समूहमा ६ सूत्रकै जनै लगाउने प्रचलन छ। यस परिवर्तनलाई गृहस्थ जीवनसँग जोडिएको अतिरिक्त जिम्मेवारीको प्रतीकका रूपमा व्याख्या गरिएको पाइन्छ।

विवाहले व्यक्तिको जीवनमा नयाँ सम्बन्ध र नयाँ कर्तव्य थप्छ। अब उसको जीवन व्यक्तिगत साधना र अध्ययनमा मात्र सीमित रहँदैन। जीवनसाथी, परिवार, सन्तान र व्यापक सामाजिक जीवनसँग उसको उत्तरदायित्व जोडिन्छ। यसैले ६ सूत्रलाई जीवनको विस्तारित दायित्वको प्रतीकका रूपमा बुझ्न सकिन्छ।

आधुनिक पुनव्र्याख्यामा ६ सूत्रलाई ६ प्राथमिकतासँग जोड्न सकिन्छ। पहिलो प्राथमिकता आत्मअनुशासन हो। दोस्रो ज्ञान र विवेक हो। तेस्रो पूर्वजप्रतिको कृतज्ञता हो। चौथो जीवनसाथी र परिवारप्रतिको जिम्मेवारी हो। पाँचौं समाजप्रतिको उत्तरदायित्व हो। छैटौं प्रकृति र भविष्यका पुस्ताप्रतिको दायित्व हो।

यी ६ प्राथमिकताले एउटा महत्त्वपूर्ण जीवनदर्शन प्रस्तुत गर्छन्। मानिस आफ्नो जीवनमा केन्द्रित भए पनि उसको अस्तित्व अरूसँग सम्बन्धित हुन्छ। उसको निर्णयले परिवारलाई प्रभाव पार्छ। परिवारले समाजलाई प्रभाव पार्छ। समाज प्रकृतिमा निर्भर हुन्छ। वर्तमान पुस्ताको कर्मले भविष्यका पुस्ताको जीवन निर्धारण गर्छ। यस अर्थमा ६ सूत्रलाई दायित्वको विस्तारका रूपमा बुझ्न सकिन्छ। तीन सूत्रले आधारभूत ऋण सम्झाउँछन्। ६ सूत्रले जीवन विस्तार हुँदै जाँदा थपिएका जिम्मेवारी सम्झाउँछन्।

ऋषितर्पण र ज्ञानको ऋण

जनैपूर्णिमाको अर्को महत्त्वपूर्ण पक्ष ऋषितर्पण हो। यस दिन ऋषिहरूलाई सम्झेर तर्पण दिइन्छ। जल अर्पणको बाहिरी संस्कारभित्र ज्ञानप्रति कृतज्ञताको गहिरो भावना रहेको छ। ऋषि ज्ञानको खोजी गर्ने, सत्यको अनुसन्धान गर्ने र मानव समाजलाई ज्ञान दिने चेतनाको प्रतीक हुन्।

भाषा, दर्शन, गणित, चिकित्सा, कृषि, खगोल, राज्यव्यवस्था र नैतिक चिन्तन सबै पुस्तौंको योगदानबाट विकसित भएका छन्। त्यसैले ऋषितर्पणले बौद्धिक विनम्रता सिकाउँछ। आफूभन्दा पहिले पनि ज्ञान थियो। आफूले पाएको ज्ञानलाई सम्मान गर्नुपर्छ। त्यसलाई अझ विकसित गरेर अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्छ।

रक्षाबन्धन र रक्षा सूत्र

जनैपूर्णिमाको अर्को महत्त्वपूर्ण आयाम रक्षाबन्धन हो। दिदीबहिनीले भाइको हातमा राखी (रक्षाबन्धन) बाँध्ने परम्परा यसको लोकप्रिय रूप हो। गुरु–पुरोहितले पनि यजमानको नाडीमा रक्षा सूत्र बाँध्ने चलन व्यापक छ।

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।

तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल।।

रक्षा सूत्रलाई संरक्षण, स्थिरता र मंगलकामनाको प्रतीक बनाइएको छ। यसको भाव शारीरिक सुरक्षामा सीमित छैन। सम्बन्धको संरक्षण, विश्वासको संरक्षण र आफ्नो जिम्मेवारीबाट विचलित नहुने संकल्प पनि यसको गहिरो अर्थमा समेटिन्छ।

रक्षाबन्धन र आधुनिक मनोविज्ञान

आधुनिक सामाजिक मनोविज्ञानले मानिसको व्यवहारमा प्रतीक र सामूहिक संस्कारको महत्त्व अध्ययन गरेको छ। संस्कारले समूह पहिचान, एकात्मकता, भावनात्मक सम्बन्ध र सामूहिक प्रतिबद्धता बलियो बनाउन सक्छ भन्ने विभिन्न सामाजिक अध्ययनले संकेत गरेका छन्।

यस दृष्टिले रक्षा सूत्रको महत्त्व बुझ्न सकिन्छ। नाडीमा बाँधिएको सूत्रले मानिसलाई सम्बन्धको सम्झना गराउँछ। त्यसले संकटमा साथ दिने, सम्बन्धको सम्मान गर्ने, आफ्नो जिम्मेवारीबाट पछि नहट्ने जस्ता मौन प्रतिज्ञा निर्माण गर्छ। यसको सामाजिक र मनोवैज्ञानिक प्रभावलाई नै यसको आधुनिक महत्त्व मान्न सकिन्छ।

जनैपूर्णिमा र प्रकृतिको सम्बन्ध

नेपालमा जनैपूर्णिमा जल, वर्षा, कृषि र प्रकृतिसँग जोडिएका लोकपरम्परासँग पनि सम्बन्धित छ। काठमाडौं उपत्यकामा भ्यागुतालाई अन्न अर्पण गर्ने परम्परा यसको सुन्दर उदाहरण हो। यसमा वर्षा र कृषि जीवनप्रति कृतज्ञताको लोकभावना देखिन्छ।

आधुनिक पर्यावरण विज्ञानले जल, उभयचर जीव र जैविक विविधताको महत्त्व स्पष्ट गरेको छ। परम्परागत लोकविश्वासलाई वैज्ञानिक तथ्यसँग जस्ताको तस्तै बराबर ठान्नु आवश्यक छैन तर प्रकृतिलाई सम्मान गर्ने संस्कारलाई आधुनिक वातावरण संरक्षणसँग जोड्न सकिन्छ। जनैपूर्णिमाको दिन नदी सफा गर्ने, जलस्रोत संरक्षण गर्ने, वर्षाको पानी संकलन गर्ने र स्थानीय जैविक विविधताको संरक्षण गर्ने अभियान चलाउन सकिन्छ। यसरी पुरानो संस्कार आधुनिक पर्यावरणीय चेतनामा रूपान्तरण हुन सक्छ।

क्वाँटी र पोषणको संस्कृति

जनैपूर्णिमासँग जोडिएको क्वाँटी नेपालको मौलिक खाद्य संस्कृति हो। विभिन्न गेडागुडी मिसाएर बनाइने क्वाँटी विशेषतः काठमाडौं उपत्यकाको नेवार समुदायमा गुन्हु पुन्हीका दिन महत्त्वपूर्ण भोजनका रूपमा लिइन्छ। गेडागुडी वनस्पति प्रोटिन, फाइबर, जटिल कार्बोहाइड्रेट र विभिन्न सूक्ष्म पोषक तत्त्वका महत्त्वपूर्ण स्रोत हुन्। अंकुरणले केही पोषक तत्त्वको उपलब्धता सुधार्न सक्छ। यसैले वर्षायाममा यस्तो विविध गेडागुडीको भोजनको पोषणगत महत्त्व छ। अहिले क्वाँटी सबै समुदायमा खाने प्रचलन बढेको छ। यसले हाम्रो परम्परागत संस्कृतिमा स्वास्थ्य र खानपानको ज्ञान पनि रहेको देखाउँछ। संस्कारले भोजनलाई परिवार र समुदायसँग जोड्छ। भोजनले पोषण दिन्छ।  

प्रकाशित: १३ भाद्र २०८३ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App