३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

छामघाट खोलामा अवैध उत्खनन रोकियो, ३ जेसीभी र २ ट्रिपर नियन्त्रणमा

सांकेतिक फाइल तस्बिर

दैलेखको भैरवी गाउँपालिका–१ स्थित छामघाट खोलामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन भइरहेको अवस्थामा प्रहरीले तीन वटा जेसीभी र दुई वटा ट्रिपर नियन्त्रणमा लिएर उत्खनन कार्य रोकेको छ।

खोलाभित्रै प्रवेश गरेर ढुङ्गा, गिटी तथा बालुवा उत्खनन भइरहेको सूचनापछि अस्थायी प्रहरी पोष्ट जलजलेबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर कारबाही गरेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार तोकिएको प्रक्रिया र स्वीकृत क्षेत्रभन्दा बाहिर गएर नदिजन्य पदार्थ उत्खनन भइरहेको अवस्थामा उपकरण तथा सवारी साधन नियन्त्रणमा लिइएको हो। प्रहरी टोलीले उत्खनन तत्काल रोक्दै प्रयोग भएका जेसीभी र ट्रिपर नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका उपकरण तथा सवारी साधन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन भैरवी गाउँपालिकालाई जिम्मा लगाइएको थियो। गाउँपालिकाले प्रारम्भिक छानबिनपछि सम्बन्धित पक्षबाट ३५ हजार रुपैयाँ जरिवाना असुल गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

स्थानीय तह र प्रशासनले नदीजन्य पदार्थको संरक्षण तथा व्यवस्थापनका लागि मापदण्ड लागू गरे पनि जिल्लाका विभिन्न खोलामा अवैध उत्खनन रोक्न चुनौती कायम रहेको स्थानीयहरूको भनाइ छ। विशेषगरी लोहोरे, छामघाट र पादुका क्षेत्रमा अनियन्त्रित उत्खननले नदीको प्राकृतिक स्वरूपमा असर पुर्‍याएको र कतिपय स्थानमा खोलाको सतह जमिनभन्दा तल धसिन थालेको स्थानीयको गुनासो छ।

विज्ञहरूका अनुसार अवैध उत्खननले नदीको बहाव परिवर्तन, वातावरणीय क्षति, आसपासका संरचनामा जोखिम तथा राजस्व चुहावटजस्ता दीर्घकालीन समस्या निम्त्याउन सक्छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दैलेखले स्थानीय तहसँग नदिजन्य पदार्थ उत्खनन तथा संकलनसम्बन्धी विवरण माग गर्दै अनुगमनलाई थप कडाइ गरेको छ। प्रशासनले मापदण्ड विपरीत उत्खनन गरेको पाइए थप कडा कारबाही गरिने चेतावनी दिएको छ भने प्रहरी र स्थानीय तहले संयुक्त अनुगमनलाई निरन्तरता दिने जनाएका छन्।

प्रकाशित: ३० जेष्ठ २०८३ २०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App