१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

शान्ति र सद्भाव कायम गर्न उपराष्ट्रपतिको अपिल

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका छन्।

उनले बुधबार एक सन्देशमार्फत घटनामा ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

उपराष्ट्रपति यादवले घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार प्रभावकारी रूपमा होस् भन्ने अपेक्षा गरे।

‘नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्रीभाव र सामाजिक सद्भाव हाम्रो साझा सम्पत्ति हो’, उहाँले सन्देशमा भने, ‘सबै नागरिकलाई संयमता अपनाउन, आवेग, हिंसा वा मुठभेडबाट टाढा रहन र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछु।’

उपराष्ट्रपति यादवले कुनै पनि समस्या समाधानको मार्ग शान्तिपूर्ण संवाद भएको उल्लेख गर्दै आफ्ना माग संयमित ढङ्गले प्रस्तुत गर्न सबै पक्ष जिम्मेवारीपूर्वक प्रस्तुत हुन अनुरोध गरे।

उनले स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजले आपसी समन्वय गरेर विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।

उपराष्ट्रपति यादवले उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता अग्रसर हुन अनुरोध गरे।

प्रकाशित: १३ श्रावण २०८३ १७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App