१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानलाई कडा प्रहार गर्ने चेतावनी दिँदै ट्रम्पले भने : उनीहरूले नराम्रोसँग कुटाइ खानेछन्

मध्यपूर्वमा एकाएक बढेको तनाव र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथिको इरानी क्षेप्यास्त्र आक्रमणको प्रयासपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य प्रतिकारको चेतावनी दिएका छन्। 

फक्स न्युजसँगको विशेष कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले इरानमाथि कडा सैन्य कारबाही गर्ने चेतावनी दिँदै भने, ‘हामी उनीहरूलाई कडा प्रहार गर्नेछौं, उनीहरूले नराम्रोसँग कुटाइ खानेछन्।’

ट्रम्पले अमेरिकी सेनासँग जोर्डनमाथिको आकस्मिक आक्रमणलाई असफल बनाउन केही मिनेट मात्र बाँकी रहेको अवस्थामा रक्षा प्रणालीले लक्ष्यमा पुग्नुअघि नै क्षेप्यास्त्रहरू आकाशमै सफलतापूर्वक नष्ट गरेको जानकारी दिए। साथै, उनले आक्रमणको समयमा अमेरिकी सेनाले वास्तविक समयमा स्थान संकेत दिएको भिडियोसमेत समीक्षा गरेको बताए।

यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जोर्डनस्थित मुवाफक साल्टी एयर बेस र अमेरिकी सेनाको केन्द्रीय कमान्डको मुख्यालयलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको जनाएको थियो। जोर्डनको सेनाले आफ्नो आकाशमा आएका पाँच वटा इरानी मिसाइल आकाशमै नष्ट गरिएको पुष्टि गरेको छ।

इरान समर्थित समूहहरूले साउदी अरेबियाका तेल खानी र ऊर्जा केन्द्रहरूमा लगातार ड्रोन आक्रमण गरेपछि अमेरिका र साउदी अरेबियाले संयुक्त रूपमा इराकमा रहेका इरान समर्थित सशस्त्र समूहहरूमाथि ठूलो हवाई आक्रमण गरेका हुन्। इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले दिएको जानकारी अनुसार अमेरिका-साउदी आक्रमणका कारण सातवटा प्रान्तमा कम्तीमा २० जना लडाकु मारिएका छन् र ३२ जना घाइते भएका छन्।

राष्ट्रपति ट्रम्पले इराकमा गरिएको उक्त रातारातको आक्रमण इराकी सरकारसँगको समन्वयमै भएको स्पष्ट पार्दै इरान समर्थित समूहहरूलाई ‘संसारको क्यान्सर’ को रूपमा चित्रण गरेका छन्। उनले इरानी समर्थित समूहविरुद्ध थप कडा कदम चालिने चेतावनीसमेत दिएका छन्।

तर, अमेरिका र साउदी अरबको संयुक्त आक्रमणपछि इराकले कडा आपत्ति जनाएको छ। इराकी सरकारले यसलाई आफ्नो देशको सार्वभौमिकताको स्पष्ट उल्लंघन भनेको छ। साथै, इराकले आफ्नो भूभाग छिमेकी देशहरूविरुद्ध आक्रमण गर्ने अखाडा बन्न नदिने बताउँदै आएको छ। यस तनावका बिच इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुडानीको साउदी अरेबिया भ्रमण अनिश्चितकालका लागि स्थगित भएको छ।

यो नयाँ सैन्य द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको छ। व्यापारका लागि अति संवेदनशील मानिने होर्मुज जलमार्ग र रेड सी क्षेत्रमा देखिएको तनावका कारण तेलको मूल्यमा भारी बृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब सात प्रतिशतले बढेर प्रति ब्यारेल ९० डलरको नजिक पुगेको छ।

ओमानले होर्मुज जलमार्गमा जहाजहरूको ट्रान्जिट व्यवस्थापन गर्न राखेको प्रस्तावलाई इरानले अस्वीकार गरेको छ। यता, यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका तेल डिपोहरूलाई लक्षित गरेर नाकाबन्दीको घोषणा गरेपछि क्षेत्रीय द्वन्द्व थप फैलिने जोखिम बढेको छ। विश्लेषकहरूले यो द्वन्द्व कूटनीतिक माध्यमबाट समाधान नभएमा यसले विश्व अर्थतन्त्र र मध्यपूर्वको शान्तिमा दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा

प्रकाशित: १३ श्रावण २०८३ २०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App