२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस एकताका लागि जनप्रतिनिधिको दबाब: साउन १६ को राष्ट्रिय भेला २७ मा सर्‍यो

नेपाली कांग्रेस समर्थित जनप्रतिनिधिहरूको ‘पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान’ ले पार्टीभित्रको एकतालाई समयको अपरिहार्य आवश्यकता भएको भन्दै दबाब अभियानलाई निरन्तरता दिने घोषणा गरेको छ।  

अभियानले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन का कारण साउन १६ गतेका लागि तय गरिएको देशभरका कांग्रेस समर्थित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला साउन २७ गतेका लागि सारिएको जनाएको छ।

बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टी स्थापना कालदेखि नै निरंकुशताविरुद्ध, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएको कांग्रेस अहिले फेरि नागरिक अधिकारको रक्षाका लागि संघर्षको संघारमा रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा पार्टीभित्रको अन्तरविरोधले नागरिक स्वतन्त्रता र राष्ट्रिय एकतालाई कमजोर पार्न खोज्ने शक्तिलाई अनुकूल वातावरण बनाइदिएको भन्दै पार्टीभित्र बृहत्तर एकता अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख छ।

अभियानका अनुसार कांग्रेस समर्थक मात्र नभई शुभेच्छुकहरूले समेत पार्टीभित्रको एकतालाई आवश्यक ठानेका छन्। पार्टी एकताका विषयमा सभापतिसहित शीर्ष नेताहरूसँग भएका छलफल सकारात्मक रहेको जानकारी पनि विज्ञप्तिमार्फत दिइएको छ।

विज्ञप्तिमा पछिल्लो समय समाजमा बढ्दो अराजकता र असहिष्णु व्यवहार नियन्त्रण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सुनसरीको देवानगञ्ज क्षेत्रमा भइरहेको धार्मिक द्वन्द्वले थप संकटको संकेत गरेको जनाइएको छ। देशलाई विभाजनतर्फ जानबाट रोक्न, समाजलाई जोड्न र साम्प्रदायिक हिंसाबाट बाहिर निस्केर सहिष्णुता र सामाजिक एकता कायम गर्न सबै पक्षसँग अपिल गरिएको छ।

त्यस्तै, उक्त घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

अभियानले औपचारिक राष्ट्रिय भेला पछि सारिए पनि पार्टी एकताका लागि अनौपचारिक दबाब अभियान भने निरन्तर सञ्चालन हुने स्पष्ट पारेको छ। साथै देशभरका कांग्रेस समर्थित जनप्रतिनिधि, शुभेच्छुक र समर्थकलाई आ–आफ्नो क्षेत्रबाट पार्टीका शीर्ष नेताहरूमाथि एकताका लागि दबाब अभियान जारी राख्न हार्दिक अपिल गरेको छ।

प्रेस विज्ञप्तिमा स्वर्गीय वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना पनि प्रकट गरिएको छ।

 

प्रकाशित: १३ श्रावण २०८३ १९:५७ बुधबार