सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध स्रोत नखुलेको सम्पत्तिको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार चौधरीले आफ्नो वैधानिक आम्दानीभन्दा दुई करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसाबराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको निष्कर्षसहित बुधबार आरोपपत्र दर्ता गरिएको हो।
अख्तियारले २०६५ पुस ११ गते सरकारी सेवामा नियुक्त भएदेखि २०८२ असार २९ गतेसम्मको आर्थिक गतिविधिको अध्ययन गरेको थियो। अनुसन्धानका क्रममा चौधरी तथा उनको एकाघर परिवारको वैधानिक आम्दानी दुई करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा रहेको देखिएको छ। तर सोही अवधिमा खर्च र लगानीसहित कुल व्यय चार करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा पुगेको आयोगको दाबी छ।
आम्दानी र व्ययबीचको दुई करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसाको अन्तरको वैध स्रोत पुष्टि हुन नसकेपछि उक्त रकम बराबरको सम्पत्तिलाई गैरकानुनी आर्जन ठहर गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अनुसन्धानका क्रममा गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्तिको केही हिस्सा परिवारका सदस्यको नाममा समेत रहेको देखिएकाले चौधरीसँगै उनकी श्रीमती अर्पना कुमारीलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
प्रकाशित: १३ श्रावण २०८३ १६:५८ बुधबार





