भोटेकोशी तथा त्रिशूली क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न जलविद्युत् कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै जलविद्युत् व्यवसायी मोहन विक्रम कार्की नेतृत्वमा रहेका कम्पनीहरूले विपद्मा परेका नागरिकको सहयोगका लागि उक्त रकम उपलब्ध गराएका हुन्। सहयोगस्वरूपको चेक भदौ १६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो।
चेक हस्तान्तरण कार्यक्रममा व्यवसायी कार्कीले प्राकृतिक विपद्का बेला निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रूपमा निर्वाह गर्दै राज्यको राहत तथा उद्धार अभियानमा सहकार्य गर्नुपर्नेमा जोड दिए।
विपद्को कठिन घडीमा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्यले प्रभावित परिवारलाई तत्काल राहत पुग्नुका साथै पुनर्स्थापनाको अभियानमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे।
सिन्धुपाल्चोकका कार्की नेपाली निजी जलविद्युत् क्षेत्रमा सक्रिय व्यवसायीका रूपमा परिचित छन्। उनी इलेक्ट्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष हुनुका साथै हिल्टन हाइड्रो इनर्जी लिमिटेडलगायत विभिन्न जलविद्युत् कम्पनीको नेतृत्वमा छन्। उनको नेतृत्वमा सिन्धुपाल्चोक, ताप्लेजुङ, इलाम, म्याग्दी र लमजुङमा विभिन्न जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन भइरहेका छन्।
ऊर्जा उत्पादनमा योगदान पुर्याउँदै आएका कार्की नेतृत्वका कम्पनीहरू स्थानीय रोजगारी सिर्जना, सामुदायिक विकास तथा राष्ट्रिय ऊर्जा सुरक्षामा समेत सक्रिय रहँदै आएका छन्। व्यावसायिक गतिविधिसँगै विपद्को कठिन समयमा प्रभावित नागरिकका लागि आर्थिक सहयोग उपलब्ध गराएर ती कम्पनीहरूले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता पनि प्रस्तुत गरेका छन्।
भोटेकोशी तथा त्रिशूली क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछि राज्यका विभिन्न निकायसँगै निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणबाट समेत राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ। यस्तो अवस्थामा निजी क्षेत्रको सहकार्यले विपद् प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १६ भाद्र २०८३ १९:३३ मंगलबार





