रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जुम्लाका स्थानीय तह, जनप्रतिनिधि तथा निजी क्षेत्रले सहयोग घोषणा गरेका छन्।
जुम्लाको गुठिचौर गाउँपालिकाले बाढीपीडितका लागि १२ लाख ६७ हजार ३ सय ४८ रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँ कार्यपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार सहयोग रकममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट संकलित रकम समावेश गरिएको छ।
गाउँपालिकाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
गाउँपालिका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) ले विपद्को पीडामा परेका नागरिकलाई स्थानीय तहका तर्फबाट सक्दो सहयोग गर्नु मानवीय दायित्व भएको बताइन्।
रसुवामा भएको क्षतिले देशभरका नागरिकलाई दुःखी बनाएको उल्लेख गर्दै उनले प्रभावित परिवारको उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको बताइन्।
प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले विपद्का बेला राहत तथा उद्धारका कामलाई प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए। गाउँपालिकाले उपलब्ध स्रोतबाट सहयोग जुटाएर पीडितसम्म राहत पुर्याउने प्रयास गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा समन्वयका लागि तयार रहेको उनले बताए।
आफ्ना नागरिकको खोज तथा उद्धारका लागि थप सहयोग
गुठिचौर गाउँपालिकाले आफ्ना नागरिकको खोज तथा उद्धारका लागि थप सहयोग गर्ने निर्णयसमेत गरेको छ। गाउँपालिकाको विज्ञप्तिअनुसार गाउँपालिकासँग सम्बन्धित ९ जनालाई प्रतिव्यक्ति ७५ हजार रुपैयाँका दरले कुल ६ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
गाउँपालिकाले विपद् प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै नागरिक तथा सहयोगी निकायलाई समेत राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेको छ।
यसैगरी, जुम्लाको पातारासी गाउँपालिकाले आफ्ना सबै जनप्रतिनिधिको एक महिनाको सम्पूर्ण सेवा–सुविधा राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाका सूचना प्रविधि अधिकृत तुलबहादुर बोहोराले उक्त निर्णय भएको जानकारी दिए।
निजी क्षेत्रबाट पनि सहयोग
यसैबीच, जुम्लाका इलेक्ट्रोनिक्स व्यवसायी तथा सनलाइन इलेक्ट्रोनिक्स सेन्टरका सञ्चालक एवं उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाले रसुवा बाढीपीडितको राहतका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्।
रसुवामा आएको विनाशकारी बाढीपछि जुम्लाबाट स्थानीय तहदेखि निजी क्षेत्रसम्मले सहयोगको हात फैलाएका छन्। विपद्को पीडामा परेका नागरिकप्रति कर्णालीबाट देखिएको यो ऐक्यबद्धताले राहत, उद्धार तथा पुनःस्थापनाको अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १६ भाद्र २०८३ २०:१८ मंगलबार





