१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बाँझो जग्गामा व्यावसायिक फूल खेती गर्दै विदुर

विदुर नगरपालिकाको आफ्नो बाँझो रहेको छ रोपनी जग्गामा व्यावसायिक फूल खेती सुरु गरेको छ। विदुर–९ स्थित वडा कार्यालय परिसरमा रहेको खाली जग्गामा नगरपालिकाले सयपत्री र मखमली जातका नौ हजार बिरुवा रोप्न सुरु गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनको अनुसार अहिले रोप्न थालेको बिरुवाको उत्पादन आगामी तिहार पर्वका लागि तयार हुने छ।

'नगरपालिकाले बाँझो जग्गाको सदुपयोग, फूल बिक्रीबाट आम्दानीको स्रोत वृद्धि र स्थानीय नगरवासीलाई व्यावसायिक फूलखेतीप्रति आकर्षण बढाउन वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पुष्पखेतीको प्रवर्द्धन गर्न लागिएको छ,' उनले भने, 'गत वर्ष परीक्षणको रूपमा गरेको खेतीले सफलता पाएसँगै यो वर्ष बाह्रै महिना फूल उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।'

फूल खेतीका लागि आधुनिक यान्त्रिकीकरणको सहायताले ड्याङ (ठाउँ) तयार पारिएको छ। छ रोपनी जग्गामा ‘मल्चिङ’ प्रविधिमा आधारित सयपत्री र मखमली जातका नौ हजारभन्दा बढी फूलका बिरुवा रोप्न सुरु गरिएको कृषि शाखाका अधिकृत सविना बोगटीले जानकारी दिइन्। बिरुवा अन्यत्रबाट खरिद गरेर ल्याइएको छ। रोप्नका लागि नगरपालिकाको जनप्रतिनिधि र कर्मचारी खटिएका छन्।

यान्त्रिकीकरणको प्रयोगले कम लागतमा रोप्ने ठाउँ तयार गरिएको छ भने मल्चिङ प्रविधिमा खेती गर्दा आम्दानी धेरै लिन सकिने उनको भनाइ छ। नगरपालिकाले गत वर्ष वडा नं ५ र वडा नं ९ मा परीक्षणका रुपमा लगाएको फूलखेतीमा सफलता पाएसँगै यो वर्ष बाँझो एवं प्रयोगविहीन अवस्थामा रहेका आफ्नो जग्गामा खेती गरेर आम्दानीको स्रोत बढाउन र स्थानीय किसानलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने लक्ष्य लिएको छ।

सोही अभियानअन्तर्गत वडा नं ५ को कार्यालय पनि फूलबाट लाभ लिन व्यावसायिक खेती सुरु गरेको वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए। उनको अनुसार वडा नं ५ ले कार्यालय परिसरमा रहेका बाँझो एवं खाली जग्गामा यो वर्षदेखि व्यावसायिक फूल खेती सुरु गरेको हो। रासस

प्रकाशित: १० श्रावण २०८२ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App