२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

उजाड राप्ती सामुदायिक वनमा फर्कियो हरियाली

वातावरण र जैविक विविधता जोगियो

बाँकेको राप्तीसोनारी गाउँपालिका–६ मा रहेको राप्ती पीडित सामुदायिक वन केही वर्षअघि उजाड र मरुभूमिजस्तो अवस्थामा थियो । घामले पोलिएको जमिन, छरपस्ट रुखका ठुटा र मानवीय अतिक्रमणले प्रभावित उक्त वन स्थानीयका लागि निराशाको प्रतीक बनिसकेको थियो ।

तर आज त्यही स्थान हरियालीले ढाकिएको छ । २५ हेक्टर क्षेत्रफलमा फैलिएको राप्ती पीडित सामुदायिक वनमा खयरका बिरुवाले जमिन समातिसकेका छन्, चराचुरुंगी फर्किएका छन् र जंगल पुनः बाँचिरहेको अनुभूति दिन थालेको छ ।

वन पुनस्र्थापनको अभियान स्थानीय उपभोक्ताहरूको एकताबाट सुरु भएको थियो । ‘वन जोगाउनैपर्छ’ भन्ने साझा सोच विकसित हुँदै जाँदा तराई भू–परिधि तथा संरक्षण कार्यक्रमको आर्थिक र प्राविधिक सहयोग जोडियो । संरक्षणका लागि क्षेत्र तारबार गरियो र योजनाबद्ध रूपमा खयरका बिरुवा रोप्न थालियो । रोपाइँसँगै निगरानी र समुदायको जिम्मेवारी पनि बढाइयो ।

वन उपभोक्ता अजुद्धय थारुका अनुसार, ‘पहिला यहाँ बालुवा र धुलो मात्रै थियो, अब हरियो देख्दा गर्व लाग्छ ।’ उनका अनुसार, वन जोगाउने जिम्मेवारी केवल सरकारको होइन, समुदायको पनि हो भन्ने चेतना बलियो बनेको छ ।

राप्ती पीडित सामुदायिक वन कम्दी करिडोर अन्तर्गत पर्ने महत्त्वपूर्ण क्षेत्र हो, जसले बाँके राष्ट्रिय निकुञ्जदेखि भारतको सोहेलवा संरक्षित क्षेत्रसम्म वन्यजन्तुको आवतजावत सुनिश्चित गर्छ । वन हरियाली भएसँगै वन्यजन्तुको मार्ग पुनः खुल्न थालेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमका प्रतिनिधि तिलकराम थारुका अनुसार, ‘वन पुनस्र्थापनले केवल स्थानीय वातावरण जोगाएको छैन, सीमापार जैविक विविधताको संरक्षणमा पनि योगदान दिएको छ।’

वनले स्थानीय समुदायका लागि आम्दानीको स्रोत बन्ने सम्भावना पनि बोकेको छ । ब्लक नम्बर ५ मा खयरका बिरुवा रोपिएपछि आन्तरिक पर्यटक आकर्षित हुन थालेका छन् । उपभोक्ता ओमकुमारी खड्का भन्छिन्, ‘पहिला वन उजाड हुँदा मन खिन्न हुन्थ्यो, अब हरियो भएपछि गाउँ नै फरक देखिन्छ ।’

राप्ती पीडित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदनकुमार बुढाका अनुसार, ‘माटो जोगिएको छ, हावापानीमा सुधार आएको महसुस हुन्छ, जैविक विविधता फर्किंदै छ । वनले पानीको स्रोत जोगाउन, तापक्रम सन्तुलनमा राख्न र स्थानीय जीवनशैली सुरक्षित बनाउन मद्दत गरेको छ ।’

वन पुनस्र्थापन अभियान सरल थिएन, बिरुवा रोप्ने मात्र होइन, निगरानी र दीर्घकालीन योजना आवश्यक थियो । अवैध कटानी र चरन नियन्त्रण गरियो, केही असहजता र विरोध भए पनि संवाद र सहमतिबाट समाधान निकालियो ।

आजको हरियाली केवल वनको पुनर्जीवन नभई समुदायको चेतना, एकता र सहकार्यको उदाहरण बनेको छ । उजाड जमिन पनि सही योजना, सहयोग र इच्छाशक्तिले हरियालीमा बदल्न सकिने सन्देश यस वनले दिएको छ । बाँकेको राप्ती पीडित सामुदायिक वन वातावरण र जैविक विविधता संरक्षणमा जीवित उदाहरण बनेको छ, जहाँ उजाडपनमाथि हरियालीले विजय हासिल गरेको छ।

प्रकाशित: १३ पुस २०८२ १७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App