३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

जेनजीको प्रदर्शनः घुसपैठ गर्न खोज्नेलाई प्रहरीको जिम्मा लगाइने

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा ‘जेन जी’ पुस्ताले सोमबार काठमाडौंको माइतीघर मण्डलामा आयोजना गर्न लागेको प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै युवाहरूले सचेतना अपनाएका छन्।

उनीहरूले आन्दोलनलाई बिथोल्न वा आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोज्ने कुनै पनि समूह वा व्यक्तिलाई आफैँले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउने चेतावनी दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट औपचारिक अनुमति लिएर युवाहरूले सोमबार बिहान ९ बजेदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शनको तयारी गरेका हुन्।

बिहान ९ बजेदेखि ११ बजेसम्म प्लेकार्डसहितको शान्तिपूर्ण प्रदर्शन गर्ने र त्यसपछि मार्चपास गर्ने कार्यक्रम रहेको तयारीमा जुटेका एक युवाले जानकारी दिए।

‘आन्दोलनको नेतृत्व कसै एक जनाले गरेको छैन, यो सबैको स्वस्फूर्त सहभागिता हो,’ उनले भने, ‘यसमा २० देखि २५ वटा विभिन्न समूहहरू सहभागी छन् र सबैले आ-आफ्नो ठाउँबाट तयारी गरिरहेका छन्।’

उनले आन्दोलनमा अवाञ्छित तत्वहरू प्रवेश गरेर बिथोल्न सक्ने सम्भावनालाई आफूहरूले नजरअन्दाज नगरेको बताए। ‘भोलिको आन्दोलनमा घुसपैठ हुन सक्छ भन्ने हाम्रो अनुमान छ,’ ती युवाले भने, ‘हामी सबैलाई सम्झाउने प्रयास गर्छौं, तर कसैले अराजक गतिविधि गर्न खोजेमा हामी आफैँले प्रहरीको जिम्मा लगाउनेछौं।’

आयोजकहरूले भोलिको आन्दोलनलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाउने र त्यसपछिका कार्यक्रमबारे छलफल गरेर अगाडि बढ्ने योजना रहेको स्पष्ट पारेका छन्।

प्रकाशित: २२ भाद्र २०८२ २१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App