उदयपुरका एक पुरुष बेपत्ता भएको पाँच दिनपछि मृत फेला परेका छन्। जिल्लाको उदयपुरगढी गाउँपालिका ६ नेपालटार प्रगति टोलका ४० वर्षीय डम्बर तामाङ जंगल बीचमा सोमबार बिहान मृत फेला परेका हुन्।
अटो चालक रहेका डम्बर ५ दिनअघि शौचालय जान्छु भनेर घरबाट निस्केका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएको श्रीमती अम्बिका तामाङले बताइन्। सामान्य बिरामी भएर घरमै आराम गरिरहेका उनी बेपत्ता भएपछि धेरै ठाउँ खोजी गर्दा पनि नभेटिएका उनले बताइन्।
वडाध्यक्ष कृष्ण खत्रीका अनुसार जंगलमा घाँस दाउरा गर्न गएका स्थानीयले मृतावस्थाको मानव शरीर देखेर जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। रुखको हाँगामा झुण्डिएर मृत फेला परेको शव सडिसकेको अवस्थामा भए पनि कपडाको आधारमा पहिचान गरिएको खत्रीले बताए।
अस्थायी प्रहरी बिट नेपालटार र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर सर्जमिन मुचुल्का कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चिरञ्जीवी थापाले बताएका छन्।
प्रकाशित: ७ वैशाख २०८३ १३:५१ सोमबार





