१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

मेचीनगरमा पहिलो भक्का उत्सव

मेचीनगरमा राजवंशी समुदायले पहिलो पटक आज प्रथम भक्का पिठ्ठा उत्सव मनाएका छन्। मेचीनगर–७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरको आयोजनामा भएको भक्का उत्सवमा पाँच सय किलो चालमको पिठोबाट भक्का तयार गरिएको हो।

रैथाने परम्परागत खाद्य परिकारका रूपमा रहेको भक्काको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले भक्का उत्सव आयोजना गरिएको हो। भाषा, कला, संस्कार र संस्कृतिको पहिचानसहित आयोजना गरिएको यो उत्सवले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। २५ भन्दा बढी जातजाति रहेको मेचीनगरमा राजवंशी समुदायको उल्लेख्य बसोबास रहेको जानकारी पनि कार्यक्रममा दिइयो।

नगरका १५ वटै वडाबाट ३० जना जातीय पोसाक र गरगहनामा सजिएका राजवंशी समुदायका महिलाले सामूहिक रूपमा भक्का तयार गरेका थिए। पूर्वी तराईका झापा र मोरङ जिल्लाका आदिवासी राजवंशी समुदायमा भाक्का खाने पुरानो चलन रहिआएको छ। धानको पिठोबाट बनाइने भक्का पोसिलो र स्वादिलो हुने भएकाले पूर्वी तराईमा यसको लोकप्रियता बढ्दै गएको छ।

मङ्सिरदेखि जिल्लाका काँकरभिट्टा, इँटाभट्टा, बिर्तामोड, भद्रपुर, दमक लगायत सहरी तथा ग्रामीण क्षेत्रका चोक र बजारमा राजवंशी समुदायसहित अन्य समुदायले पनि भक्का बनाएर बिक्री गर्दै आएका छन्। पानीको बाफमा पकाइने र कुनै किसिमको मिसावट नहुने भएकाले भक्का स्वास्थ्यका लागि उत्तम मानिन्छ।

जिल्लाभरका राजवंशी समुदायले पुस २९ गतेलाई भक्का दिवसका रूपमा पछिल्लो नौ वर्षदेखि मनाउँदै आएका छन्।

प्रकाशित: २७ पुस २०८२ १६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App