२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

लाइट नभएका, ब्रेक नलाग्ने अटोको त्रास बढ्दो

नेपालगञ्जको सडकमा तीन पांग्रे अटो रिक्साको आवाज गुन्जिन्छ, ‘टिक–टिक–टिक...।’ कार्यालय जान हतारका कर्मचारीदेखि बजार पसलतिर लागेका व्यापारीसम्म, सबैलाई यो सस्तो र सजिलो यातायात माध्यम बनेको छ । तर, यही सुलभ सवारी साधन अहिले शहरकै ठूलो समस्या बन्न थालेको छ । करिब ७० प्रतिशतभन्दा बढी अटो रिक्साहरू प्राविधिकरूपमा सञ्चालन योग्य छैनन्, तर तिनै अटो सडकमा हरेक दिन निर्बाधरूपमा दौडिरहेका छन् ।

नेपालगञ्जको मुख्य चोक त्रिभुवन चोकबाट वीपीचोक, धम्बोझी–सेतुविक चोक, धम्बोझी–पुष्पलाल चोक, घरबारी टोल, सदरलाइन, न्यूरोडलगायतका क्षेत्रमा दिनहुँ सयौँ अटो दौडिन्छन् । तीमध्ये धेरैको अवस्था हेर्दा डर लाग्छ । कुनैमा ब्रेक ठीकसँग काम गर्दैन, कतिपयमा साइड लाइटै छैन, कतिपयको हर्न बन्द छ । यस्तो अवस्थामा अटोले यात्रु मात्रै होइन, सडकमा हिँड्ने पैदल यात्रु र अन्य सवारी साधनका चालकलाई पनि जोखिममा पारिरहेका छन् ।

स्थानीय बासिन्दा राजु परियार भन्छन्, ‘अटो चालकले साइड हेर्दैन, सिधै बाटो काट्छ । बेलुकीतिर लाइट नै नबाली चलेका हुन्छन् । कहिले ब्रेक काम नगरेर पछाडिका सवारी ठोक्किन्छन् ।’ यस्तो अवस्था नेपालगञ्जका धेरै स्थानमा सामान्य बनेको छ । तर, आश्चर्यको कुरा, ‘यस अनियमितताको नियमन गर्ने कुनै निकाय जिम्मेवारीपूर्वक सक्रिय देखिँदैन ।’  

नेपालगञ्ज उपमहानगरपालिका मौन छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि नदेखे झैं गर्छ । सवारी साधनका यान्त्रिक पक्ष जाँच गर्नुपर्ने प्रावधान भए पनि त्यसको कार्यान्वयन कमजोर छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक कनकबहादुर शाही पनि यो समस्या स्वीकार्छन् । उनी भन्छन्, ‘अव्यवस्थित अटो रिक्सा अहिले ठूलो चुनौती बनेको छ । कारबाही मात्रै समाधान होइन, यसका लागि सबै निकायले समन्वय गर्नुपर्छ । हामीले यान्त्रिक जाँच अनिवार्य गर्ने योजना बनाइरहेका छौं । अहिले योजना निर्माणको अन्तिम चरणमा छौं ।’  

अटो रिक्सा सञ्चालनका लागि स्थानीय सरकारलाई स्पष्ट अधिकार भएकाले स्थानीय सरकार पनि यस विषयमा गम्भीर भएर लाग्नु पर्ने उनको भनाइ छ । उनका अनुसार नगर प्रमुख प्रशान्त विष्टले योजना निर्माणमा चासो देखाएका छन् । पछिल्लो समय चाडपर्व भएकाले योजना निर्माणमा केही ढिला भए पनि अब यसले पूर्णता पाउने उनी बताउँछन् ।  

तर योजना र वास्तविकता बीचको दूरी अझै लामो छ । नेपालगञ्जमा दैनिक सयौँ अटो रिक्साले यात्रु ओसार्छन्, तर तिनको नियमित प्राविधिक परीक्षण गर्ने व्यवस्था छैन । न त चालकहरूको तालिम व्यवस्थित रूपमा लिइन्छ, न त अटोको मर्मतसम्भारमा कसैको चासो देखिन्छ । परिणामस्वरूप, साना दुर्घटना दैनिकजसो भइरहेका छन् । कहिले ट्याक्सीमा ठोक्किने, कहिले साइकल वा मोटरसाइकल च्यापिने, कहिले पैदल यात्रु घाइते हुने ।

अटो चालकहरू पनि आफ्नो पक्षमा कारण देखाउँछन् । यात्रु पर्खिरहेका चालक हरि जैसी भन्छन्, ‘हामी पनि चलाउन डराउँछौं तर अटो पुरानो भइसकेको छ । मर्मत गराउन पैसा छैन । ग्राहक नचढे त पेट कसरी पाल्ने ?’ आर्थिक समस्याले गर्दा धेरै चालकले अटोको मर्मतमा ध्यान दिन सक्दैनन् । फलस्वरूप, सडकमा जोखिमपूर्ण अटो बढ्दै गएको छ । शहरका नागरिकले दैनिक जोखिम मोलिरहेका छन् । सडकको पेटीमा हिँड्दा पनि हर्न नहुने अटो अचानक घिस्रिँदै आउँछ, राति बिना लाइट अटोले बाटो काट्छ, अनि दुर्घटनाको बीउ रोपिन्छ ।

नेपालगञ्जमा अहिले अटोको संख्यामा पनि नियन्त्रण छैन । जसले गर्दा ट्राफिक जाम, प्रदूषण र दुर्घटनाको जोखिम तीनै बढेको छ । ट्राफिक प्रहरीको भनाइ अनुसार, अबको चरणमा अटोको प्राविधिक परीक्षण अनिवार्य गरिनेछ । तर प्रश्न उस्तै छ, कति प्रभावकारी रूपमा त्यो कार्यान्वयन हुन्छ ? अटो चालकलाई सचेत बनाउने, तालिम दिने, र अटो मर्मतका लागि प्रोत्साहन दिने दीर्घकालीन योजना नआएसम्म समस्या जस्ताको तस्तै रहने देखिन्छ ।

नेपालगञ्ज जस्तो शहरमा अटो रिक्सा आज जीविकाको साधन बनेको छ, तर त्यही साधन अहिले जीवनका लागि जोखिम पनि । सस्तो र सहज सवारीको नाममा नागरिकले आफ्नो सुरक्षा गुमाइरहेका छन् । योजना, नियम र नियमनका बीच सडकमा ती अयोग्य अटोहरू अझै दौडिरहेका छन्, यात्रुका साथ, जोखिमका साथ ।

 

प्रकाशित: २९ कार्तिक २०८२ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App