सन् २००५ देखि भारतीय टेलिभिजनमा अभिनय यात्रा थालेका कलाकार गौरव खन्नाले करिब दुई दशक लामो संघर्ष, निरन्तरता र पहिचानको यात्रापछि रियालिटी शो ‘बिग बोस १९’ को उपाधि जित्न सफल भएका छन्।
टेलिभिजन धारावाहिकदेखि रियालिटी शोसम्मको यो यात्रा सरल थिएन, तर गौरवले आफ्नै मेहनतले आफूलाई स्थापित गराएका हुन्।
गौरव टेलिभिजन धारावाहिक ‘अनुपमा’ मा अनुज कपाडियाको भूमिकामा देखिँदा दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाए। संवाद प्रस्तुति मात्र होइन, उनको कविता वाचन शैलीले पनि दर्शक र समीक्षकबाट प्रशंसा बटुलेको थियो।
उत्तर प्रदेशको कानपुरका ४३ वर्षीय गौरवले सन् २४ नोभेम्बर २०१६ मा टेलिभिजन कलाकार आकांक्षा चमोलासँग प्रेम विवाह गरेका हुन्। विवाहको करिब नौ वर्ष बितिसक्दा पनि सन्तानका विषयमा मौन रहँदै आएको यो जोडीले ‘बिग बोस १९’ को घरभित्र गौरवले दिएको एक अभिव्यक्तिपछि चर्चा पाएका छन्। उनले कार्यक्रममा श्रीमतीलाई बच्चा नचाहने भएकाले आफूले पनि त्यो विषयमा दबाब नदिएको बताएका थिए।
गौरवको यो भनाइपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखियो । कसैले खुलेर समर्थन गरे भने कसैले आलोचना पनि गरे।
गौरव खन्नाले पहिलो पटक सन् २००५ मा प्रसारित ‘भाभी’ धारावाहिकमार्फत भूवनको भूमिकामा अभिनय सुरु गरेका थिए। त्यसपछि उनी ‘कुमकुम–एक प्यारा सा बन्धन’ मा देखिए। सन् २००९ मा आएको ‘ये प्यार न होगा कम’ धारावाहिकले उनलाई बढी चर्चा दिलायो। यो सिरियलमा अभिनेत्री यामी गौतमसमेत प्रमुख भूमिकामा थिइन्, जो हाल बलिउडमा सफल अभिनेत्रीका रूपमा स्थापित छिन्।
यसका अलावा गौरवले ‘सीआईडी’, रियालिटी शो ‘सेलिब्रेटी मास्टरसेफ इन्डिया’ लगायत दर्जनौँ टेलिभिजन कार्यक्रम र धारावाहिकमा अभिनय गरेका छन्।
हालै सम्पन्न ‘बिग बोस १९’ मा कुल १८ जना प्रतिस्पर्धी बीच गौरव खन्ना पहिलो स्थान हासिल गर्दै विजेता बने। उपाधिसँगै उनले ट्रफी र ५० लाख भारतीय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। दुई दशक लामो टेलिभिजन यात्रापछि बिग बोसको मञ्चमा प्राप्त यो सफलता गौरव खन्नाका लागि करियरको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ।
प्रकाशित: २२ मंसिर २०८२ १७:१८ सोमबार





