२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

धर्मेन्द्रको जन्मदिनमा सम्झनपर्ने पाँच सुपरहिट फिल्म

६५ वर्षको पर्दा आरोह-अवरोह

बलिउडका ‘हि–म्यान’का रूपमा परिचित धर्मेन्द्र देओल भारतीय चलचित्र इतिहासका त्यस्ता अभिनेता हुन्, जसको नामसँगै संघर्ष, निरन्तरता र स्टारडम जोडिएको छ।  

आफ्नो सक्रिय जीवनको करिब ६५ वर्ष अभिनय यात्रामा जोडिएका उनले तीन सयभन्दा बढी चलचित्रमा काम गरेका छन् । अभिनय, स्टार अपिल र दर्शकमाझको लोकप्रियताका कारण उनी दशकौँसम्म बलिउडका शीर्ष नायकमध्ये रहे।

उनको योगदानको कदरस्वरूप धर्मेन्द्रले १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरे भने २०१२ मा भारत सरकारबाट पद्म भूषण सम्मान पाएका थिए। सन् १९६० मा अर्जुन हिंगोरानी निर्देशित ‘दिल भी तेरा हम भी तेरे’ बाट चलचित्र यात्रा सुरु गरेका धर्मेन्द्रको पहिलो फिल्म अपेक्षित रूपमा चलेन। तर लगातारको मेहनत र भूमिकाप्रतिको इमानदारीले उनलाई सन् १९६१ को ‘शोला और शबनम’ पछि स्थापित अभिनेता बनायो।

आज डिसेम्बर ८, धर्मेन्द्रको जन्मदिन । केही समय अघिमात्र धर्मेन्द्रलाई बिदा गरेका दर्शकले अहिले पनि उनको खोजी गरिरहेका छन् । यही सन्दर्भमा उनलाई सम्झँदै उनको करियरलाई प्रतिनिधित्व गर्ने पाँच सुपरहिट चलचित्रले दर्शकलाई फेरि धर्मेन्द्रको संघर्षसम्म पुर्‍याउन मद्दत गर्दैछ । धर्मेन्द्रको जीवनको उत्तारचढाव झल्काउने यी पाँच फिल्मबारे छोटो चर्चा गरौँ ।

 

१. शोले

भारतीय सिने इतिहासकै सबैभन्दा आइकोनिक चलचित्रमध्ये एक ‘शोले’ बिना धर्मेन्द्रको करियर अधुरो हुन्छ। सलीम–जावेदद्वारा लिखित र रमेश सिप्पी निर्देशित यो चलचित्रले धर्मेन्द्रलाई ‘जय’को भूमिकामा अमर बनायो। जय–वीरुको मित्रता बलिउडमै उदाहरणीय मानिन्छ।

अमिताभ बच्चन, संजीव कुमार, हेमा मालिनी, जया बच्चन र अमजद खानको बलियो अभिनयसँगै शोले ले सन् २००२ मा सर्वकालीन उत्कृष्ट भारतीय चलचित्रको सूचीमा पहिलो स्थान पाएको थियो।

२. चाचा भतीजा

मनमोहन देसाई निर्देशित ‘चाचा भतीजा’ (१९७७) धर्मेन्द्रको व्यावसायिक रूपमा सफल चलचित्रमध्ये एक हो। यस फिल्ममा उनले शंकरको भूमिका निभाएका थिए। पारिवारिक भावनासँगै हास्य र नाटकको सन्तुलनले यो चलचित्र दर्शकमाझ हिट बन्यो। उक्त वर्षका ठूलो चलचित्रहरूमध्ये एउटाका रूपमा यसलाई लिने गरिन्छ।

३. ड्रीम गर्ल

एक्सन र कमेडी मिश्रित ‘ड्रीम गर्ल’ (१९७७) ले धर्मेन्द्र र हेमा मालिनीको जोडीलाई थप लोकप्रिय बनायो। चलचित्रको टाइटल गीत ‘ड्रीम गर्ल’ अपार हिट भयो, जसपछि हेमा मालिनी दर्शकमाझ ‘ड्रीम गर्ल’कै नामले चिनिन थालिन्। धर्मेन्द्रले अनुपम वर्माको भूमिका निभाएका थिए, जसले रोमान्टिक हिरोको छवि अझ बलियो बनायो।

४. हुकूमत

सन् १९८७ मा आएको ‘हुकूमत’ धर्मेन्द्रको एक्सन अवतारको चरम उदाहरण हो। अनिल शर्मा निर्देशित यो चलचित्र बदला र न्यायको कथामा आधारित छ। अर्जुन सिंहको भूमिकामा धर्मेन्द्रको दबदबा दर्शकले अत्यन्त रुचाए। एक्सन मन पराउने दर्शकका लागि हुकूमत आज पनि सम्झनलायक चलचित्र हो।

५. कातिलों के कातिल

सन् १९८१ को ‘कातिलों के कातिल’ कथावस्तुको दृष्टिले फरक र साहसी चलचित्र मानिन्छ। धर्मेन्द्रले अजितको भूमिका निभाएका यस फिल्ममा रहस्यमय तत्व र बदला पक्ष बलियो थियो। ज़ीनत अमान, ऋषि कपूर, टीना मुनीम र अमजद खान जस्ता कलाकारको उपस्थितिले चलचित्रलाई थप चर्चित बनायो।

६ दशकभन्दा लामो करियरमा धर्मेन्द्र केवल स्टार मात्र रहेनन्, बलिउडको एउटा युग नै प्रतिनिधित्व गरे। अहिले उनको अन्तिम चलचित्र ‘एक्सी’ आगामी डिसेम्बर २५ मा प्रदर्शनमा आउने तयारीमा छ।  

दिवंगत धर्मेन्द्रप्रति हार्दिक श्रद्धाञ्जली । उनको यो स्मृति दिसमा उनी अभिनित चलचित्र सम्झनु भनेको केवल एक कलाकारलाई होइन, सिने इतिहासको सुनौलो अध्यायलाई सम्मान गर्नु हो।

प्रकाशित: २२ मंसिर २०८२ १७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App