नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता प्रकाश ज्वालाले कम्युनिस्ट आन्दोलनमा देखिएको विभाजन र टुटफुट अन्त्य गर्दै आन्दोलनलाई एकताबद्ध बनाउन पार्टी एकता गरिएको बताएका छन्।
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूको उपस्थितिमा बोल्दै ज्वालाले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकारको रक्षा र जनताका मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्न कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने बताए।
उनले एकताबद्ध कम्युनिस्ट आन्दोलनले आगामी निर्वाचनमा सफलता हासिल गर्न, सरकार गठन गर्न र प्रगतिशील सुधारका काम अघि बढाउन सहयोग पुग्ने धारणा राखे । समाजवादको आधार निर्माण गर्नसमेत कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको उनको भनाइ थियो।
‘कम्युनिस्ट आन्दोलनमा एकताको आवश्यकता छ। विभाजन र टुटफुटबाट यो आन्दोलनलाई मुक्त गर्दै एकताको अभियान अघि बढाउनुपर्छ,’ ज्वालाले भने।
पार्टी एकताका क्रममा संगठनात्मक समायोजन कसरी गर्ने भन्ने विषयमा छलफल भएको भएको र दुवै पक्षबीच सहमति भएपछि केन्द्रीय कार्यसमिति तथा कार्यसंयोजन समितिका बैठकमा विषयबारे जानकारी गराइएको र कात्तिकमा बसेको बैठकले एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए।
ज्वालाले यो एकता अभियान निरन्तर अघि बढ्ने उल्लेख गर्दै सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एकताबद्ध बनाउने प्रयास सफल हुने विश्वास व्यक्त गरे।
उनले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतान्त्रिक अधिकारको संरक्षण, जनताका आन्दोलनमा नेतृत्वदायी भूमिका र निर्वाचनमा सफलता हासिल गर्न एकताको महत्त्व रहेको बताए।
प्रकाशित: १७ कार्तिक २०८३ १४:०६ मंगलबार





