काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर कार्की र मध्यस्थकर्ताको काम गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालाइसिस’ को काम स्वीकृत गरिदिएबापत बार्गेनिङ गर्दै सेवाग्राहीलाई पटक/पटक दुःख हैरानी दिएर घुस माग गरिरहेकी थिइन्।
सोही सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टङ्गालबाट खटिएको टोलीले दुवै जनालाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नगरपालिका कार्यालय थली, डाँछीबाट सोमबार नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार विशेष अदालतबाट म्याद थप अनुमति लिई घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रकाशित: १६ भाद्र २०८३ १७:४२ मंगलबार





-600x400.jpg)