६ असार २०८३ शनिबार
image/svg+xml
समाज

दहेजमुक्त विवाहमा उपसभामुख रुबी कुमारी सहभागी

मधेशमा जरा गाडेर बसेको दाइजो प्रथाविरुद्ध सशक्त सन्देश प्रवाह गर्न प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुर रौतहटमा सम्पन्न एक दलित परिवारको दहेजमुक्त विवाह समारोहमा सहभागी भएकी छन्।

दहेजमुक्त समाज निर्माणको अभियानप्रति ऐक्यबद्धता जनाउँदै उपसभामुख ठाकुर शुक्रबार राति फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहामा आयोजित विवाह समारोहमा पुगेर नवदम्पतीलाई आशीर्वाद दिएकी हुन्।

स्थानीय राम पुकार पासवानकी छोरी सृजना पासवान र सर्लाहीको गोडैता नगरपालिका–३ भगवतीपुर निवासी चुल्हाइ पासवानका छोरा बिरेन्द्र पासवानबीच कुनै प्रकारको दाइजो लेनदेन नगरी सामाजिक परम्परा अनुसार विवाह सम्पन्न भएको छ।

दहेजमुक्त विवाह समारोहमा सहभागी हुन पुगेकी उपसभामुख ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले भव्य स्वागत गरेका थिए। कार्यक्रममा फतुवा विजयपुर नगरपालिकाका नगरप्रमुख प्रत्याशी विजय यादव निर्विजसहित विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको बताए।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख ठाकुरले दहेजमुक्त विवाह सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार बन्न सक्ने बताइन्। उनले दहेज प्रथा जस्तो सामाजिक कुरीति अन्त्य गर्न राज्य मात्रै लागेर सम्भव नहुने यसका लागि समाज, अभिभावक तथा युवापुस्ताले संयुक्त रूपमा पहल गर्नुपर्ने बताइन्।

'दहेजमुक्त विवाह केवल एउटा पारिवारिक निर्णय होइन, यो सामाजिक सुधारको अभियान हो,' उनले भनिन्, 'समाजमा जरा गाडेर बसेका कुरीति र कुसंस्कार अन्त्य गर्न सोच र व्यवहारमा परिवर्तन आवश्यक छ।'

मधेश प्रदेशमा दहेज प्रथा अझै पनि गम्भीर सामाजिक चुनौतीका रूपमा रहेकाले यसलाई कानुनी रूपमा निषेध गरिए पनि सामाजिक दबाब, आर्थिक लेनदेन र परम्परागत सोचका कारण यसको पूर्ण अन्त्य हुन सकेको छैन। यसको असर विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारले भोग्नुपरेको सरोकारवालाहरू बताउँछन्।

विवाहलाई पूर्ण रूपमा दहेजरहित तथा सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा सम्पन्न गरिएको स्थानीय किशोरी पासवानले बताए।

रौतहटमा सम्पन्न यस दहेजमुक्त विवाह समारोहले मधेशमा दहेज उन्मूलन र सामाजिक सुधारको बहसको रुपमा लिएर अभियन्ताहरूले यस्ता किसिमका उदाहरणले समाजमा सकारात्मक चेतना फैलाउनुका साथै कुरीतिविरुद्ध महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: ६ असार २०८३ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App