राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनको चहलपहल बढिरहँदा युवा नेता हिमेश पन्तले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
शनिबार एक भिडियोमार्फत उनले असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने महाधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। २०७९ सालमा संघीय उम्मेदवार बनेका उनले २०८२ मा पार्टीका अन्य उम्मेदवारलाई अवसर दिएर जिताउन सक्रिय भूमिका खेलेको दाबी गरेका छन्। उनले संगठन सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
आफ्नो उम्मेदवारीबारे पन्त भन्छन्, ‘मेरो उम्मेदवारी कुनै पद प्राप्तिको चाहना होइन, पार्टीलाई अझ बलियो, व्यवस्थित र शुभचिन्तकमैत्री बनाउन योगदान गर्ने प्रतिबद्धता हो। पार्टीभित्रका साथीहरूको आवाज केन्द्रसम्म पुर्याउने र संगठन निर्माणमा इमानदार भूमिका निर्वाह गर्ने मेरो अठोट छ।’ उनले आफ्नो विगतको काम र योगदानको मूल्यांकन गर्दै मतदातालाई मत दिन आग्रह गरेका छन्।
रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई निकै महत्वका साथ हेरेको छ। महाधिवेशनको उद्घाटन भरतपुरस्थित गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ। महाधिवेशन सम्पन्न गर्न करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रकाशित: ६ असार २०८३ ०८:४२ शनिबार





