चितवनमा किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ। चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जिल्लामा एक लाख गाईभैँसी पालिएका छन्। कतिपय किसानले आफैँले खोरेतविरुद्धको खोप लगाउने गरेका बताउँदै कार्यालयले पालिकामा रहेका पशुसेवा कार्यालयमार्फत पनि खोप लगाएको बताए।
‘भाइरसका कारण यो रोग सर्ने गर्दछ। यस रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दूध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखानेजस्ता लक्षण देखिन्छ। यो रोग बढी सङ्ख्यामा गाईभैँसी र बुङ्गुरमा देखिने भएकाले किसानले पनि सर्तकता अपनाउनु पर्दछ’, पशु सेवा कार्यालयका प्रमुख डा न्यौपानेले भने।
जिल्लाका पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाएपछि सुरक्षित हुने भए पनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुमा यो रोग देखिने गरेको उनको भनाइ छ। उनले बाहिरबाट खरिद गरेर ल्याइएका पशुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र आफ्नो बथानमा मिसाउन आग्रह गरे।
डा न्यौपानेले भन्नुभयो, ‘सङ्क्रमण देखिएका पशुलाई छुट्टै राखेर उपचार गर्नुपर्छ।’ जङ्गली जनावारबाट पनि सर्नसक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी यसको सङ्क्रमण देखिने बताए।
हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा दुई पटक खोरेतविरुद्धको खोप लगाउन कार्यालयले पशुपालन गर्ने किसानलाई आग्रह गरेको छ।
प्रकाशित: ५ असार २०८३ १०:२४ शुक्रबार

