२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

सोचलाई उद्यम र प्रविधिमा बदल्ने ‘डियरह्याक’

युवा आविष्कारक, डेभलपर्स र प्रविधिप्रेमी विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ शुक्रबार (जेठ २९) देखि आगामि जेठ ३१ गतेसम्म काठमाडौंमा ‘डियरह्याक २०२६’ आयोजना हुने भएको छ।

राजधानीको सिफलस्थित डियरवाक कम्प्लेक्समा हुने यस वर्षको ह्याकाथनमा नेपालसहित छिमेकी मुलुक भारतका विद्यार्थीहरूको समेत सहभागिता रहने छ।

सन् २०२३ मा सुरु भएको यो अभियान यस वर्ष चौथो संस्करणमा प्रवेश गरेको छ। विद्यार्थीहरूद्वारा नै सञ्चालित यस ह्याकाथनले छोटो समयमै देशकै अग्रणी प्राविधिक मञ्चको पहिचान बनाएको आयोजकको दाबी छ।

हालसम्म ४ हजारभन्दा बढी आवेदकहरू आकर्षित भइसकेको यस मञ्चमा २५० भन्दा बढी टोलीले आर्टिफिसियल इन्टेलिजेन्स, शिक्षा, पर्यावरण र उद्यमशीलता जस्ता विधामा २५० भन्दा बढी नयाँ प्रोजेक्टहरू तयार पारिसकेका छन्।

यसअघिका संस्करणहरूमा विकास गरिएका प्रोजेक्टमध्ये ‘वन रक्षक’ र ‘रिजननेट’ विशेष चर्चामा रहेका थिए। रुखमा जडान गरिने ध्वनि सेन्सरका माध्यमबाट अवैध वन फँडानी नियन्त्रण गर्ने प्रविधिका रूपमा ‘वन रक्षक’ लाई विकास गरिएको थियो भने नयाँ स्टार्टअपहरूलाई आफ्ना व्यावसायिक अवधारणा परिष्कृत गर्न ‘रिजननेट’ ले सहयोग पुर्‍याउँदै आएको छ।

यस वर्षको कार्यक्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रका विद्यार्थीहरूको व्यापक सहभागिता रहने छ। यसका साथै पहिलो पटक भारतीय विद्यार्थीहरूलाई समेत यस संस्करणमा सामेल गराइएको छ।

यस संस्करणका लागि ‘वातावरणीय दिगोपना’ लाई मुख्य थिमका रूपमा व्याख्या गरिएको छ। तर, यो थिम केवल प्रेरणाका लागि मात्र भएकाले सहभागीहरूलाई आफ्नो रुचि अनुसार एआई, सफ्टवेयर वा सामाजिक प्रभावका जुनसुकै विधामा पनि प्रोजेक्ट बनाउन पूर्ण स्वतन्त्रता हुनेछ।

तीन दिनसम्म चल्ने यस ह्याकाथनमा प्रतिस्पर्धाका साथै प्राविधिक कार्यशाला, विज्ञहरूबाट मेन्टरसिप र प्रोजेक्ट प्रदर्शनीसमेत हुनेछ। भविष्यमा यस कार्यक्रमलाई युरोप र उत्तर अमेरिकासम्म विस्तार गरी विश्वव्यापी आविष्कार मञ्चका रूपमा विकास गर्ने बृहत् लक्ष्य राखिएको आयोजकले बताएका छन्।

प्रकाशित: २८ जेष्ठ २०८३ १९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App