सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा तत्कालीन माओवादी सेनाका ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालालाई जन्म कैदको सजाय तोकेको छ । गोविन्दबहादुर बटालाको ज्यान मुद्दामा बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले जन्म कैदको सजाय हुने ठहर गरेको हो । मुलुकी ऐन अवं १८८ नं बमोजिम बटालालाई १० वर्ष सजाय तोकिएको छ ।
अर्का प्रतिवादी ड्राइभर संकल्प भन्ने अर्जुन कार्कीलाई भने सफाइ दिएको छ । बटाला र अर्जुनलाई सफाइ दिने २०७६ फागुन १८ गते सर्वोच्च अदालतको फैसलामाथि पुनरवलोकनका लागि अनुमति दिएको थियो । न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको पूर्ण इजलासले २०७७ असोज १५ गते पुनरावलोकनका लागि अनुमति दिएको हो ।
न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले गरेको उक्त फैसला पुनरवलोकनका लागि यही भदौ २६ मा निवेदन दर्ता गरेको थियो। बटालालाई सफाइ दिएको कानुनी आधार त्रुटिपूर्ण भएकाले उनी दोषी ठहर हुनुपर्ने महान्यायाधिवक्ता कार्यालयको निवेदनमा जिकिर थियो । सरकारी वकिलको कार्यालयले बटालालाई जन्मकैद मागसहित यसअघि अभियोगपत्र दर्ता गरेको थियो। बटालाले अधिकार प्राप्त अधिकारी र अदालतमा इन्कारी बयान गरेका, रामहरि श्रेष्ठलाई कुटपिट गरेको भन्ने मिसिलमा संलग्न कुनै पनि तथ्य प्रमाणबाट खुल्न नआएको ठहर गर्दै सर्वोच्चले यसअघि सफाइ दिएको थियो।
बटाला कोटेश्वरका व्यापारी श्रेष्ठलाई अपहरण गरी काठमाडौंबाट चितवनसम्म लगेर हत्या गर्न संलग्न रहेको अभियोगपत्रमा उल्लेख छ । चोरीको घटनासँगै जोडिए पनि २०६५ वैशाख ७ मा प्रतिवादी गोविन्दबहादुर बटालाको नेतृत्वमा केरकार गरी वैशाख १५ गते आधा रातमा अपहरण गरी श्रेष्ठलाई शक्तिखोर चितवनसम्म लगिएको महान्यायाधिवक्ता कार्यालयको पुनरवलोकन निवेदनमा उल्लेख गरिएको थियो । मृतक श्रेष्ठकी श्रीमती रमिलाले २०६५ वैशाख ३१ मा महानगरीय प्रहरीवृत्त नयाँबानेश्वरमा पतिको खोजतलास गरी पाऊँ भनी निवेदन दिएकी थिइन् ।
के थियो घटना ?
दश वर्षे हिंसात्मक आन्दोलनपछि शान्ति प्रक्रियामा आएको तत्कालिन माओवादीले व्यवसायी श्रेष्ठको घरमा जनमुक्ति सेना तेस्रो डिभिजनको सम्पर्क कार्यालय भाडामा राखिएको थियो। सोही ठाउँबाट २०६४ चैत १४ मा १७ लाख नगदसहित हतियार चोरी भएको बताइन्छ । उक्त घटनाको छानबिन गर्न भन्दै तत्कालीन जनमुक्ति सेनाका तत्कालीन ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालालाई खटाएको थियो।
बटाला २०६५ वैशाख ७ गते काठमाडौं पुगेर व्यवसायी श्रेष्ठ, केशव अधिकारी, गंगाराम थापालाई सोधपुछ गरेर फर्किएका थिए।त्यसपछि कमान्डर खामको निर्देशनमा बटाला फेरी २०६५ वैशाख १५ गते श्रेष्ठको घरमा पुगे। मध्यरातमा परिवारसँग सुतिरहेका बेला श्रेष्ठलाई लगेर चितवन शक्तिखोरमा पु¥याइयो। शक्तिखोरमा बटालाले केशव र गंगारामलाई थुनेर राखेका थिए ।
वैशाख २८ राति व्यवसायी श्रेष्ठलाई मरणासन्न हुनेगरी कुटिएको थियो। उक्त कुटपिटमा श्रेष्ठको टाउको, छाती, तिघ्रामा गम्भीर चोट लागेको बताइन्छ। सोही कुटपिटबाट उनको मृत्यु भएको दाबी गरिएको छ । श्रेष्ठको शव २०६५ वैशाख २८ बिहान नारायणी नदीमा फेला परेको थियो। त्यसपछि श्रेष्ठकी पत्नी रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
त्यसपछिको अनुसन्धानमा शक्तिखोर शिविरमै मृत्यु भएका श्रेष्ठको शव जनमुक्ति सेनाकै बोलेरो गाडीमा ओसारेर चितवनको भालुढुंगा भन्ने ठाउँमा पु¥याइएको सरकारी वकिलको निवेदनमा उल्लेख छ। जहाँ शव तन्नामा पोको पारी ढुंगा बाँधी नारायणी नदीमा फालिएको बताइन्छ । श्रेष्ठको हत्यामा जनमुक्ति सेनाको तत्कालीन डिभिजन कमान्डर कालिबहादुर खाम, श्रेष्ठलाई अपहरण कार्यमा संलग्न बटाला, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्की संलग्न रहेको आरोप थियो । उनीहरूविरुद्ध जिल्ला अदालत चितवनमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । मुद्दाको २०६८ जेठ १७ मा फैसलाले बटालालाई तीन वर्ष कैद हुने फैसला भएको थियो। जिल्लाको फैसलापछि बटाला थुनामा गएका थिए ।
सरकारी पक्षले जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै तत्कालीन पुनरावेदन अदालत हेटौंडामा निवेदन दर्ता गरेको थियो। २०७० माघ ५ मा पुनरावेदनले जिल्लाकै फैसला सदर गरेको थियो । त्यसविरुद्ध दुवै पक्षले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । यही मुद्दामा सर्वोच्चले २०७६ फागुन १८ मा बटाला र कार्कीलाई सफाइ दिने फैसला गरेको थियो।सोही फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकन मागेर २०७७ भदौ २६ गते महान्यायाधिवक्ता कार्यालयले फैसला पुनरवलोकनका निवेदन दर्ता गरेको थियो। २०७७ असोज १५ गत बटालालाई सफाइ दिएको कानुनी आधार त्रुटिपूर्ण रहेको भन्दै मुद्दा पुनरवलोकनका लागि अनुमति दिने निर्णय गरेको थियो।
प्रकाशित: २८ जेष्ठ २०८३ २०:२३ बिहीबार





