तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीमा परी थप ३६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो। मृतकमध्ये ७ जना महिला र ८ जना पुरुष रहेका छन् भने एक जनाको पहिचान खुल्न बाँकी छ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको छ। प्रहरीका अनुसार रसुवाबाट १३, नुवाकोटबाट १९ र धादिङबाट ३ जना घाइतेको उद्धार गरिएको छ।
बाढीका कारण नदी आसपासका बस्ती तथा संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा राहतको कामलाई तीव्रता दिइएको छ।
बुधबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले भूकम्प र पहिरोका कारण रसुवाको भोटेकोसी नदीमा ठुलो बाढी आएको बताए।
बाढीको कारण भूकम्पपछि पहिरो गएर नदी थुनिएको हुन सक्ने सरकारी आकलन रहे पनि विज्ञहरूले हिमपहिरो वा हिमताल विस्फोटको सम्भावनालाई समेत औंल्याएका छन्।
प्रकाशित: १० भाद्र २०८३ १६:२० बुधबार





