रसुवाको सीमावर्ती क्षेत्रबाट एक्कासि उर्लिएको भोटेकोशीको भीषण बाढीले नुवाकोटको बेत्रावती बजारलाई बगरमा परिणत गरिदिएको छ।
बाढीको वेग र फैलावट हेर्दा बेत्रावतीमा घर, पसल, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको वास्तविक विवरण भने उद्धार तथा स्थलगत निरीक्षणपछि मात्रै यकिन हुने भएको छ।
बाढी रसुवाबाट तल्लो तटीय क्षेत्रमा झर्दै बेत्रावती हुँदै त्रिशूली नदीको बहावमा मिसिएपछि नुवाकोटका तटीय बस्ती र बजारहरूमा समेत वितण्डा मच्चाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बेत्रावतीदेखि देवीघाटसम्मका तटीय क्षेत्रमा बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको सुरक्षाकर्मीबाट जानकारी प्राप्त भएको छ।
बेत्रावती बजारको अहिलेको दृश्यले क्षतिको गम्भीरता झल्काएको छ। बाढीको बहाव बजार क्षेत्रमै पसेपछि सडक तथा बजारका संरचना माटो, ढुंगा र गेग्रानले पुरिएका छन् भने कतिपय संरचना बगाएको प्रारम्भिक विवरण छ। बजारको ठूलो भूभाग बगरजस्तो देखिन थालेपछि स्थानीय व्यवसायी र बासिन्दा आफ्नो घर तथा पसलको अवस्था बुझ्नसमेत कठिनाइमा परेका छन्।
बाढीको बहावसँगै बजार क्षेत्रका घर, पसल, गोदाम तथा अन्य व्यापारिक संरचनामा क्षति पुगेको अनुमान छ। बेत्रावती नुवाकोट र रसुवाबीचको महत्वपूर्ण व्यापारिक तथा आवागमन केन्द्र भएकाले यहाँ भएको क्षतिले स्थानीय जनजीवनसँगै व्यापारिक गतिविधि र यातायातमा समेत दीर्घकालीन असर पार्न सक्ने देखिएको छ।
बेत्रावतीपछि त्रिशूली बजार, ढुङ्गे र देवीघाट क्षेत्रसमेत बाढीले क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार त्रिशूली बजार आसपास मात्रै करिब ६० घर बाढीले बगाएको छ। दुईवटा पक्की पुलमा समेत क्षति पुगेको तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा क्षति भएको विवरण सार्वजनिक भएको छ। २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीन ब्लक र सबस्टेसनमा समेत क्षति पुगेको जनाइएको छ।
प्रकाशित: १० भाद्र २०८३ १६:०२ बुधबार





