१० भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

रसुवा बाढीपछि उद्धार तीव्र, दुई हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइयो

रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गएलगत्तै सरकारले पीडितको उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ। 

साथै जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई समेत सुरक्षित स्थानमा सर्न निरन्तर सूचना प्रवाह भइरहेको छ। 

सरकारले बाढीबाट प्रभावित हुनसक्ने भन्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ। 

प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिएलगत्तै सरोकारवाला निकायले आफ्ना संयन्त्र परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिएका छन्। जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतका निकायले पीडितको उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएका छन्। नेपाली सेनाले समेत आफ्नोतर्फबाट उद्धार तथा खोजी कार्य अघि बढाएको छ। 

प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ। साथै निजी कम्पनीका हेलिकप्टरलाई समेत उद्धार तथा खोजी कार्यका लागि तयारी अवस्थामा राखिएको छ। 

यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ। 

प्रधानमन्त्री शाहले सोही विषयमा आवश्यक निर्णय लिन आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन्। 

प्रकाशित: १० भाद्र २०८३ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App