१० भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा उद्धारका लागि निर्देशन

रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक ठूलो बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले उद्धार, राहत तथा प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्। 

प्रधानमन्त्री शाहको निर्देशनपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ। प्रभावित क्षेत्रको आवश्यकताअनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाइसकिएको जनाइएको छ। 

विपद् व्यवस्थापन प्राधिकरणलाई समेत सक्रिय बनाइएको छ। मेडिकल टोली, नेपाल स्काउट, रेडक्रसलगायतका संस्थासँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन भनिएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी पठाउने प्रक्रिया पनि अघि बढाइएको छ। 

प्रधानमन्त्री शाहले तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएका छन्। जोखिममा रहेका नागरिकलाई एसएमएस तथा फोनमार्फत जानकारी गराउँदै सुरक्षित स्थानमा जान सचेत गराइएको छ।  

सम्भावित उद्धार तथा राहतका लागि सबै सरकारी हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत हेलिकप्टर ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्न जानकारी गराइएको छ। 

बाढीबाट हुन सक्ने थप क्षति न्यूनीकरण तथा आगामी आवश्यक कदमबारे निर्णय गर्न केही बेरमा उच्चस्तरीय बैठकसमेत बोलाइएको छ। 

प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। 

बाढी प्रभावित तथा जोखिममा रहेका नागरिकले थप जानकारी तथा राहतसम्बन्धी जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको छ।

प्रकाशित: १० भाद्र २०८३ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App