१० भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

सरकारले भन्यो- भूकम्पपछिको हिमपहिरोले भोटेकोशीमा बाढी

रसुवाको भोटेकोशी नदीमा भूकम्पका कारण हिमपहिरो खसेर भीषण बाढी आएको सरकारले प्रारम्भिक जानकारी दिएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ जनाको शव फेला परेको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ७९ जना सुरक्षाकर्मी एवं अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले बिहान ८:३७ बजे भूकम्प गएको र त्यसलगत्तै खसेको हिमपहिरोका कारण ८:४० बजेतिर भोटेकोशीमा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको बताए। उनले यसको प्राविधिक पक्षबारे थप पुष्टि गर्ने कार्य भइरहेको बताए।

बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ। मन्त्री खनालका अनुसार उद्धार तथा सुरक्षामा खटिएका नेपाली सेनाका ४४, नेपाल प्रहरीका २६ र सशस्त्र प्रहरीका ९ जना गरी कुल ७९ सुरक्षाकर्मी सम्पर्कविहीन छन्। यस्तै, सीमावर्ती क्षेत्रमा रहेको अध्यागमन कार्यालयका कर्मचारीहरूसमेत सम्पर्कविहीन रहेको उनले सदनलाई जानकारी दिए।

विपद्मा परेर नेपाली नागरिकहरूको समेत ज्यान गएको जानकारी दिँदै परराष्ट्रमन्त्री खनालले हालसम्म ९ जनाको शव फेला परेको र उनीहरूको पहिचान हुन बाँकी रहेको बताए।

प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको सरकारले जनाएको छ।

प्रकाशित: १० भाद्र २०८३ १६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App