१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

भाेटेकाेशी बाढी: खेतीदेखि पशुधनसम्म क्षति

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले जनधनसँगै नदीकिनारका कृषि तथा पशुपालनमा ठुलो क्षति पुर्‍याएको छ। अचानक आएको बाढीले खेतबारी कटान गर्नुका साथै बालीनाली, पशुपन्छी, कृषि सामग्री र सिँचाइ संरचनामा क्षति पुर्‍याएपछि प्रभावित किसानको जीविकोपार्जन नै संकटमा परेको छ।

बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। तटीय क्षेत्रका बस्ती, सडक, पुल, बजार र विद्युत् आयोजनासँगै खेतीयोग्य जमिनमा पनि बाढीले ठुलो क्षति पुर्‍याएको छ।

मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश सञ्जेलले बताए। ‘अहिले कृषिभन्दा मानवीय उद्धारमा ध्यान दिनुपर्ने भएकाले कृषिको विवरण लिन सकेका छैनौं,’ सञ्जेलले भने, ‘तटीय क्षेत्रका किसान प्रभावित भएका छन्।’

बाढीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय स्थानमा खेतीयोग्य जमिन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुंगा, गेग्रान र हिलो थुप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आगामी खेतीका लागि समेत समस्या सिर्जना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढीको चपेटामा परेका छन्। पशुपालनमा पनि ठुलो क्षति भएको छ।

सबैभन्दा बढी नुवाकोटमा क्षति भएको छ। नुवाकोटमा पाँच सय गाई, सात सय भैंसी, दुई हजार बाख्रा, १५ हजार कुखुरा, १५ सय बंगुर, एक सय माछा पोखरी बगाएको पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले बताए।

‘रसुवा, नुवाकोट, गोखरा, चितवन, नवलपरासी जिल्ला प्रभावित भएका छन्,’ उनले भने, ‘नुवाकोटबाट प्रारम्भिक विवरण आए पनि अन्य जिल्लाबाट आउन बाँकी छ।’ धेरै पशु मृत अवस्थामा भेटिएको दाहालले बताए। मानवीय क्षति ठुलो भएकाले पशुपन्छीभन्दा मानवीय उद्धार तथा राहतमा केन्द्रित भएको उनले बताए।

‘पशुमा क्षति भएका सबै विवरण आउन केही समय लाग्छ,’ महानिर्देशक दाहालले भने। सरकारले निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण संकलन तथा ‘डिजास्टर म्यापिङ’ गर्ने निर्णय गरेको छ। कृषि विज्ञहरूका अनुसार बाढीले तत्कालीन बाली नष्ट गर्नुका साथै आगामी उत्पादनमा समेत असर पर्छ। खेतीयोग्य माटो बग्नु, खेतमा ढुंगा–बालुवा थुप्रिनु, सिँचाइ कुलो भत्किनु र कृषि सडक तथा पुल क्षतिग्रस्त हुनुका कारण किसानले समयमै पुनः खेती गर्न नसक्ने अवस्था कठिन छ।

बाढीपछि खेतमा पानी जम्ने र माटोमा अत्यधिक गेग्रान थुप्रिने समस्या भए जमिनलाई पुनः खेतीयोग्य बनाउन थप श्रम र लगानी आवश्यक पर्छ। साना तथा विपन्न किसानका लागि यस्तो अतिरिक्त खर्च हुन्छ। बाढी प्रभावित क्षेत्रमा बिउ, मल, कृषि औजार र पशुचौपायाका लागि आवश्यक दाना तथा औषधिको आपूर्ति पनि प्रभावित भएको छ। कति खेतीयोग्य जमिन क्षति भयो, बालीनाली  नष्ट भयो, पशुचौपाया नष्ट भए र कृषि पूर्वाधारमा कति क्षति पुग्यो भन्ने विवरण आउन समय लाग्ने सरकारी अधिकारीले बताएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि बाढीबाट प्रभावित किसानको वास्तविक अवस्था पहिचान गरी राहत तथा पुनःस्थापना योजना बनाउनुपर्ने  छ। उत्पादन गुमाएका किसानलाई क्षतिपूर्ति, सहुलियत ऋण, बिमामार्फत सहयोग गर्नुपर्छ। दीर्घकालीन रूपमा नदीकिनारका बस्ती र खेतीयोग्य जमिनको जोखिम नक्सांकन गरी सुरक्षित कृषि प्रणाली विकास गर्नुपर्ने आवश्यकता हुन्छ।

बाढीले कृषि क्षेत्रलाई पुर्‍याएको क्षति केवल एक मौसमको उत्पादनमा सीमित रहँदैन। जमिन कटान, माटोको क्षय, सिँचाइ संरचना विनाश, पशुधन क्षति र बजार पहुँचमा  अवरोधले प्रभावित किसानको आयमा लामो समयसम्म असर पर्ने देखिन्छ। क्षतिग्रस्त जमिन पुनः उत्पादनयोग्य बनाउने, कृषि पूर्वाधार निर्माण गर्ने र भविष्यमा यस्ता विपद्बाट हुने क्षति कम गर्ने दीर्घकालीन योजना आवश्यक छ।

प्रकाशित: १३ भाद्र २०८३ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App