शनिबार मात्र पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव भएको छ। पोखरा प्राकृतिक रूपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेलामहोत्सवले उजागर गरिहेका छन्। पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ।
पोखरामा हुने मेलामहोत्सवले आन्तरिक तथा विदेशी पर्यटक आकर्षित गरेको छ। विभिन्न सङ्घसंस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गरिने महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन्।
कृषिलाई पर्यटनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ बर्सेनि असारे रोपाइँ महोत्सव गर्दै आएको परिषद्ले गत वर्षदेखि दाइँ महोत्सवसमेत गर्न थालेको छ।
‘पोखरा सबै मौसमका लागि’ नाराका साथ कृषिलाई पर्यटनसँग जोड्न परिषद्ले २०६१ सालदेखि बर्सेनि असार १५ गते पोखरा आसपासका क्षेत्रमा असारे रोपाइँ महोत्सव गर्दै आएको थियो। परिषद्ले गर्दै आएको महोत्सवकै कारण त्यसको सिको गर्दै पोखरा आसपासका विभिन्न क्षेत्रमा त्यहाँको स्थानीय सरकार, स्थानीयवासीको सक्रियतामा रोपाइँ महोत्सव गरिँदै आएको छ।
यस वर्ष पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो दाइँ महोत्सव गरेको परिषद्का प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि भुजेलले बताए। पोखराको सेती नदीको किनारस्थित ढुङ्गे साँघुमा माघे संक्रान्तिका अवसरमा लाग्ने मेला नेपालकै प्राचीन मेलामध्येमा पर्दछ। भगवान् रामसीतासँग जोडिएको यो मेला त्रेतायुगदेखि लाग्दै आएको विश्वास गरिएको छ। ऐतिहासिक दस्तावेज अनुसार यो मेला १९६४ सालदेखि लाग्दै आएको पाइन्छ।
स्थानीय उत्पादन ठूलो मात्रामा बिक्री वितरण हुने यस मेलामा कास्की मात्र नभै आसपासका जिल्लाबाट किनमेल गर्न र मेला हेर्न सर्वसाधारण आउने गरेका छन्। ढुङ्गेसाँघुको मेला हेर्न माघे संक्रान्तिमा भगवान् शिव, ब्रह्मा, विष्णु लगायत विभिन्न देवीदेवता आउने जनविश्वास छ। भगवान् राम र सीता आफ्नो जीवनकालमा यहाँस्थित सीताघाटमा आएको विश्वासले पनि यहाँको धार्मिक महत्त्व अझै चुलिएको पाइन्छ।
पोखरामा पछिल्लो समय पुम्दीकोटस्थित विशाल महादेव मूर्ति, सराङ्कोटस्थित पञ्चमुखी महादेव मन्दिरसँगै साहसिक पर्यटनका विभिन्न पूर्वाधार एवं गतिविधि थपिएका कारण मेला महोत्सवले यहाँको पर्यटकीय गतिविधि बढाइरहेको छ। मेला महोत्सवले यहाँको पर्यटकीय गतिविधि बढाइरहेको परिषद्का अध्यक्ष पहारीले बताए।
अङ्ग्रेजी नयाँ वर्षमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले गर्दै आएको पोखरा सडक महोत्सवको २७औँ संस्करण आउँदाे पुस १३ देखि १७ गतेसम्म गर्ने गरी तयारी रहेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए।
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा लेकसाइड क्षेत्रमा गरिने सडक महोत्सव पोखराको पहिचान नै बनिसकेको उनको भनाइ छ। ‘सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नारासहित गरिने महोत्सव व्यवस्थित गरिँदै लगिएको छ।
पोखरा उद्योग वाणिज्य सङ्घले हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालिसकेको छ। सङ्घले यही मङ्सिर १७ देखि २२ गते पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ आयोजना गर्न लागेको सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताए।
विसं २०११ मा स्थापित सङ्घले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरमा रूपान्तरण गर्न २०४२ सालमा पहिलो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो। मेलाका अवसरमा हुने व्यापार व्यवसायले यहाँको अर्थतन्त्रमा केही न केही योगदान पुर्याउने गरेको छ। पोखराकै लेखनाथ क्षेत्रमा लेखनाथ उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दैआएको छ। महोत्सवले यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान बनाउन भूमिका खेलेको सङ्घका अध्यक्ष जानुका पराजुलीले बताइन्।
सङ्घले पुस ३ देखि १४ गतेसम्म पोखरा महानगरपालिका-२७ तालचोकमा २१औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको छ। सङ्घले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सव समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रूपमा लेखनाथ महोत्सव गर्दै आएको छ।
विभिन्न जात जाति भाषाभाषीलाई एकै थलोमा जुटाएर लेखनाथ क्षेत्रको पहिचान गराउँदै आएको छ। महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीहरूको उत्पादनको प्रर्दशनी एवं विक्री हुँदै आएको छ।
युनाइटेड क्लब पोखराले आयोजना गर्दै आएको पोखरा महोत्सवको १४औँ संस्करण आगामी पुस २९ देखि माघको ११ गतेसम्म गरिने भएको छ। पोखराको अमरसिंह चौरमा बर्सेनि हुँदै आएको सो महोत्सव यहाँको पर्यटकीय पहिचान बन्दै गएको छ।
यी महोत्सवसँगै हरेक वर्ष नेपाली नयाँ वर्षमा होटेल सङ्घ पोखराले गर्दै आएको फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, तीजमा पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) पोखराले गर्दै आएको तीज सांस्कृतिक महोत्सव, पोखरा-४ ले गर्दै आएको यः मरी महोत्सव, नेवाः खलले गर्दै आएको गाईजात्रा महोत्सव, लेखनाथ होटेल तथा रेस्टुरेन्ट एसाेसियसनले गर्दै आएको फिस फेष्टिवल लगायत महोत्सवले पोखराको समग्र पर्यटनमा योगदान पुग्दै आएको यहाँका पर्यटन व्यवसायी बताउँछन्।
पोखरामा सञ्चालन हुने मेला महोत्सवको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सहयोग गर्दै आएको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले बताए।
प्रकाशित: १५ मंसिर २०८२ १३:१५ सोमबार





