२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

वीरगञ्जमा कर्फ्यु लम्बियो

पर्साको वीरगञ्जमा कर्फ्यु आदेश थप गरिएको छ। सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरेको कर्फ्यु आदेश आज पुनः थप गरिएको हो।

वीरगञ्जको विभिन्न स्थानमा हिन्दु-मुस्लिम समुदायले गरिरहेको विरोध प्रदर्शन नरोकिएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सूचना जारी गर्दै कर्फ्यु आदेश दिउँसो १ बजेसम्मका लागि थप भएको सूचना मार्फत जानकारी दिएका हुन्।

धनुषाको कमला नगरपालिका-६ स्थित सखुवाका एक मुस्लिम युवकले हिन्दु धर्मप्रति अशब्द भाषाको प्रयोग गरी टिकटक बनाएको भन्दै दुई समुदायबीच विवाद उत्पन्न भएको थियो। सोही विवादका कारण हिन्दु समुदायका युवाहरूले मस्जिदमा तोडफोड गरेको भन्दै मुस्लिम समुदाय विरोध प्रदर्शनमा उत्रिएका छन्। त्यसको प्रतिकारमा हिन्दु समुदायले पनि प्रदर्शन गरिरहेको छ।

धनुषा प्रहरीले दुई जना मुस्लिम समुदायका र एक हिन्दु युवालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ। यद्यपि वीरगञ्जमा प्रदर्शन रोकिएको छैन।

आइतबारदेखि वीरगञ्जमा जारी प्रदर्शन रोक्न जिल्ला सुरक्षा समितिले कर्फ्यु लगाउने निर्णय गरेको थियो।  

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम महानगरपालिकाको पूर्व बाईपास रोड पश्चिम सिर्सिया पुल उत्तरमा पावर हाउस चौक दक्षिण शंकराचार्य गेटमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

कर्फ्युको बेलामा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन र निस्कनु परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न प्रशासनले अनुरोध गरेको छ।

कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू: एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: २२ पुस २०८२ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App