१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन्- रातदिन नभनी खट्नुभयो, धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको राजीनामा बुझेकी छिन्।

मन्त्री घिसिङले बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री कार्कीले साढे तीन महिनाको अवधिमा तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व गरेको भन्दै घिसिङलाई बधाई तथा धन्यवाद दिइन्।

राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ। रातदिन नभनी खट्नुभयो। देशका विभिन्न भागमा पुग्नुभयो। विपद्का बेला उस्तै सक्रिय रहनुभयो।’

प्रधानमन्त्रीले विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खटेको र विकास निर्माणका बेथितिहरूविरुद्ध कठोर कदम चालेको भन्दै घिसिङको प्रशंसा गरिन्। ‘यो कुरा देशले सम्झनेछ, जनताले मूल्यांकन गर्नुहुनेछ,’ प्रधानमन्त्रीले भनिन्।

प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरूप खादा ओढाएर आगामी राजनीतिक जीवनको शुभकामना दिइन्।

उनले भनिन्, ‘तपाईं आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन। हामीले नै निम्त्याएका हौं। अझ जेन-जी युवाले तपाईंको माग गरेका हुन्। चुनाव लागेपछि राजनीतिमा जान छुट पाउने गरी नै तपाईंलाई हामीले भित्र्याएका हौं।’

राज्यबाट कुनै सुविधा नलिई घिसिङले निःस्वार्थ सेवा गरेको प्रधानमन्त्रीले उल्लेख गरिन्। ‘आउँदा दिनमा देशका निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ। यसका निम्ति म अहिले नै बधाई दिन चाहन्छु,’ प्रधानमन्त्रीले भनिन्।

मन्त्री घिसिङले पनि अन्तरिम कालमा महत्त्वपूर्ण जिम्मेवारीसहित काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे।

प्रकाशित: २३ पुस २०८२ २१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App