२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

महावाणिज्यदूत निरौलाद्वारा ल्हासामा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन

नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले चिनियाँ नागरिकद्वारा सञ्चालन गरिएको ‘नेपाली रेष्टुरेन्ट’ उद्घाटन गरेका छन्। १.९ कुजिलिन स्क्वायर, विन्हे पार्क, ल्हासास्थित उक्त रेष्टुरेन्ट ल्हासा नेपाल क्याटरिंग म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गरेको हो भने प्रोपाइटर चिनियाँ नागरिक ल्होसोङ निगा रहेका छन्।

कार्यक्रममा सयौं स्थानीयको उपस्थिति रहेको थियो। महावाणिज्यदूत निरौला र प्रोपाइटर ल्होसोङले संयुक्त रूपमा रेष्टुरेन्ट उद्घाटन गरेका थिए। रेष्टुरेन्ट नेपाली परम्परागत शैलीमा सजाइएको छ र कार्यक्रममा उपस्थित पाहुनाहरूलाई थकाली थाली सेटमार्फत स्वागत गरिएको थियो। चरेसको थाल, बटुका तथा काँटा–चम्चाको प्रयोग गरी नेपालीपन झल्काइएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली र चिनियाँ कलाकारहरूले नेपाली तथा तिब्बती गीत–नृत्य प्रस्तुत गरेका थिए। रेष्टुरेन्टमा नेपाली कामदारहरू पनि रहेका छन्।

प्रोपाइटर ल्होसोङ निगाले ‘तारा रग्स उद्योग’का नाममा काठमाडौं महानगरपालिका वडा नं. ६ तीनचुलीमा गलैंचा उद्योग सञ्चालन गर्दै तीन दशकदेखि नेपालमा पनि व्यवसाय गर्दै आएका छन्।

कार्यक्रममा महावाणिज्यदूत निरौलाले नेपाल, चीन र विशेषगरी तिब्बतबीच युगौँदेखिको सम्बन्ध रहेको उल्लेख गरे। उनले सरकारी तह मात्र नभई जनस्तरमा पनि सम्बन्ध गहिरो रहेको र नेपाली व्यवसायीहरू लामो समयदेखि तिब्बतका विभिन्न स्थानमा व्यापार–व्यवसाय गर्दै आएको बताए। चिनियाँ व्यवसायीहरू पनि नेपालमा सक्रिय रहेको उल्लेख गर्दै उनले यस्ता पहलले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।

ल्होसाङले उद्घाटन गरिदिएकोमा महावाणिज्यदूत निरौलालगायत उपस्थित महावाणिज्यदूतावास परिवार र स्थानीय नागरिकलाई धन्यवाद दिँदै यस्ता गतिविधिले नेपाल–चीन सम्बन्ध बलियो बनाउन सहयोग पुग्ने बताए। उनले रेष्टुरेन्टमार्फत नेपाली स्वाद पस्कने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रकाशित: १३ फाल्गुन २०८२ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App