३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

दूरसञ्चार कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी

विशेष अदालतमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासमा आज सुनुवाइ हुँदैछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी र पौडेलसहित १८ जनाविरुद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ। त्यस्तै बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरे बराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको जनाएको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलसमेतले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग छ। २०६८ पुस ६ गते तत्कालीन प्रबन्ध निर्देशक पौडेल समेतले चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ र ग्राहक समर्थन (सीआरटीबी एण्ड सीएस) विलिङ प्रणालीका लागि सम्झौता गरेका थिए।

जसको उद्देश्य विभिन्न प्लेटफर्ममा विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन, वायरलेस ब्राडब्यान्ड आदि दूरसञ्चार सम्बन्धी सेवाहरू एउटै प्लेटफर्ममा एकीकृत गर्नु, रियल–टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना गर्नु र अपडेट गर्नु रहेको थियो।

प्रकाशित: १५ माघ २०८२ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App