१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा एकैदिन ४२ वटा गाडीको कालो स्टिकर हटाइयो

नियम विपरीत गाडीमा लगाइएका कालो स्टिकर हटाउने अभियान कपिलवस्तुमा सुरु गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाभर यो अभियान सुरु गरेको हो। अभियान सुरु गरेको पहिलो दिनमै ४२ वटा गाडीका कालो स्टिकर हटाइएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए।

जिल्लाका विभिन्न स्थानमा ट्राफिकले चेकजाँचलाई तीव्र बनाएको ढकालले बताए। उनका अनुसार कालो स्टिकर प्रयोग गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएर स्टिकर हटाउने काम गरिएको हो। अभियानमा मातहतका ट्राफिक इकाइहरू पनि सहभागी थिए।

सवारी साधनको सिसामा अत्यधिक कालो स्टिकर प्रयोग गर्दा चालकको दृश्य क्षमता प्रभावित हुने, सडक सुरक्षामा जोखिम बढ्ने तथा आपराधिक घटनाको अनुसन्धानमा समेत कठिनाइ हुने भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो।

सवारी तथा यातायात व्यवस्था ऐनले सम्बन्धित निकायको स्वीकृतिबिना सवारी साधनको स्वरूप परिवर्तन गर्न निषेध गरेको छ। सोही कानुनी प्रावधान अनुसार जडान गरिएका गैरकानुनी कालो स्टिकर हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रहरी सहायक निरीक्षक सर्जन प्रसाद थारुले बताए।

ट्राफिक प्रहरीले सवारीधनीलाई कानुनको पूर्ण पालना गर्न तथा नियमविपरीत कालो स्टिकर प्रयोग नगर्न आग्रह गरेको छ। यस्तो अनुगमन र कारबाही अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी निरीक्षक ढकालले बताए।

प्रकाशित: १८ असार २०८३ १८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App