रसुवामा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित पीडितका लागि राहत सहयोग गर्नेहरू उदयपुरमा पनि बढ्दै गएका छन्। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष स्थापना गरी सहयोग आह्वान गरेसँगै देश–विदेशबाट जुट्न थालेको सहयोगमा उदयपुरले पनि योगदान गर्न थालेको हो।
व्यक्तिगत र संस्थागत रूपमा सहयोग दिने क्रममा त्रियुगा नगरपालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बिहीबार बसेको नगर कार्यपालिका बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख वसन्त बस्नेतले बताए।
उनका अनुसार उक्त रकम जुटाउन जनप्रतिनिधि, कर्मचारी र शिक्षकले एक दिन बराबरको तलबबाट सहयोग गर्नेछन् भने बाँकी ५ लाख रुपैयाँ नगरपालिकाले बेहोर्ने कार्यपालिकाको निर्णय छ। मेयर, उपमेयर, १६ वडाका वडाध्यक्ष, ६४ वडा सदस्य, कार्यपालिका सदस्यको एक दिनको पारिश्रमिक तथा प्रमुख प्रशासकीय अधिकृतलगायत सम्पूर्ण कर्मचारी, नगरभरिका विद्यालयमा कार्यरत शिक्षक, अस्पताल तथा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले पनि एक दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको छ।
त्यसैगरी, उदयपुर घर भई विभिन्न पेसा, व्यवसाय तथा रोजगारीको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा हराइरहेका ११ जना उदयपुरवासीको खोजी गर्न पनि नगरपालिकाले टोली पठाएको छ। मेयर बस्नेतका अनुसार सम्पर्कविहीन उदयपुरवासी नागरिकको खोजी तथा उद्धारका लागि ६ जनाको टोली बिहीबार नै घटनास्थलतर्फ पठाइएको छ।
त्रियुगा नगरपालिकाले उद्धार टोली परिचालन गर्नका लागि २ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको पनि मेयर बस्नेतले जनाएका छन्।
यसअघि नै चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले व्यक्तिगत रूपमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले घटना भएकै साँझ सामाजिक सञ्जालमा एक भिडियो सन्देश दिँदै रसुवा बाढीमा भएको क्षतिको राहत र उद्धारका लागि व्यक्तिगत रूपमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन्।
बेलका नगरपालिकाले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। व्यापक जनधनको क्षति भएको शोकको घडीमा सहयोग र सहानुभूति दुवैका लागि नगरपालिकाको तर्फबाट उक्त सहयोग गरिएको नगरप्रमुख अशोक कार्कीले बताए।
अन्य स्थानीय तहहरूले पनि सहयोग गर्ने सोचमा रहेको तर निर्णय गरिहाल्न बाँकी रहेको जनाएका छन्। उदयपुरगढी, लिमचुङबुङ, रौतामाई र ताप्ली गाउँपालिकाले सहयोग गर्ने बताए पनि निर्णय गरिनसकेको बताएका छन्। ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माले व्यापक जनधनको क्षति भएको रसुवा बाढी प्रकोपमा ताप्लीले पनि अवश्य सहयोग गर्ने तर के–कति गर्ने भन्ने विषयमा यकिन भइनसकेको बताए।
उदयपुरगढीका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले नेपाल सरकारले बिहीबार जारी गरेको निर्देशनअनुसार कर्मचारीहरूले सहयोग गर्न थालेको बताए। गाउँपालिकाको तर्फबाट संस्थागत सहयोग गर्ने विषयमा भने कार्यपालिका बैठक बसेर निर्णय गरिने उनले बताए।
लिमचुङबुङका प्रमुख प्रशासकीय अधिकृत सन्देश राईले केही कर्मचारीले सहयोग गर्न थालिसकेको बताए। उनले सरकारको निर्देशनअनुसारको सहयोग र गाउँपालिकाको संस्थागत सहयोग गर्नेबारे भने निर्णय नभइसकेको बताए।
सरकारले बिहीबार मात्र एक सार्वजनिक सूचना जारी गर्दै रसुवा दैवी प्रकोप उद्धार कोषमा कर्मचारीलाई अनिवार्य सहयोग गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले दिएको निर्देशनअनुसार राजपत्र अनङ्कित कर्मचारीलाई ५ दिनको तलब–भत्ताबराबर सहयोग गर्न भनिएको छ। त्यसैगरी, राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणी (शाखा अधिकृत र उपसचिव)लाई ७ दिन बराबरको तथा राजपत्राङ्कित प्रथम र विशिष्ट श्रेणी (सहसचिव र सचिव)लाई १० दिनको तलब–भत्ताबराबरको सहयोग गर्न निर्देशन दिएको छ।
प्रकाशित: १२ भाद्र २०८३ १८:४३ शुक्रबार



-600x400.jpg)

