२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

लामखुट्टेको बास खोजेर नष्ट गर्न प्रत्येक घरलाई अपिल

हरेक घर या टोलमा जबसम्म डेंगीको अण्डा र लार्भा हुन्छ। त्यही लार्भा ठूलो भई डेंगी सार्ने लामखुट्टे बन्छ। यही लामखुट्टेले मानिसलाई टोक्यो भने डेंगी सर्छ। यसका लागि लामखुट्टेको जन्म र हुर्किने ठाउँ हटाए मात्र हरेक व्यक्ति डेंगी संक्रमणको जोखिमबाट बच्ने उपाय रहेको विज्ञ चिकित्सकहरूले सुझाएका छन्। बुधवार स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउन डेगी सचेतना महिनाको रूपमा घोषणा गर्दै यस्तो सुझाएका हुन्।

लामखुट्टेको बासस्थान खोजर नष्ट गर्नु नै डेंगी संक्रमणबाट बच्न सकिने एक मात्र उपाय रहेको स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले सिकाएको हो।‘साउन महिना डेंगी सचेतना महिना’ घोषणा गरेको र सोअनुसार सचेतना कार्यक्रम जारी रहने महाशाखाले जनाएको छ।

डेंगीको लामखुट्टे जम्मा गरेको सफा पानीको बोटल, बट्टा, खाल्डो या गमलाको थाली  जस्ता ठाउँमा हुने भएकाले यी ठाउँहरू हप्तामा एकपटक सफा गरे लामखुट्टेको बृद्धिदर स्वत: रोकिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बताए। हरेक हप्ता यो सफाइ आप्नो घरमा मात्र गरेर नपुग्ने मन्त्री पौडेलको भनाइ छ।

‘तपाइँको घर मात्र सफा भएर पुग्दैन, छिमेकी र टोल सफा भएन भने अर्को घरको लामखुट्टे आएर तपाइँलाई टोक्न सक्छ’ उनले भने। डेंगुको बासस्थान खोजेर नष्ट गर्ने एक मात्र उपाय भएकाले यो कार्य स्वास्थ्य मन्त्रालयबाट मात्र सम्भव नभएको उनले बताए। ‘लामखुट्टेको घर नष्ट गर्ने काम हरेक व्यक्ति र नागरिकले नगरेसम्म यो वर्ष घरघरमा डेंगीको जोखिम छ’ उनले भने। डेंगी नियन्त्रण स्वास्थ्य मन्त्रालय मात्र नभइ नागरिकको हरेक तह र तप्काको भूमिका आवश्यक रहेको मन्त्री पौडेलले बताए।

‘डेंगीको लामखुट्टेको बास खोजेर नष्ट गर्न नागरिक, उद्योग, सामाजिक संघसंस्था, स्वयंसेवी संघसस्थाहरूले  गर्न सक्छन्’ उनले भने।

यो काम साउनदेखि कात्तिकसम्म अर्थात् कम्तीमा तीन महिनामा लामखुट्टको वृद्धि हुने भएकाले यी महिनाभर खोज र नष्ट  गर अभियानमा निरन्तर भएमा मात्र डेंगी संक्रमणबाट बच्न सकिने स्वास्थ्य सेवा विभागका प्रमुख डा. टंक बराकोटाीले बताए।

 उनले साउनभर देशभर लामखुट्टेको बास खोज र नष्ट गर अभियानका विभिन्न कार्यक्रमको सूची सार्वजनिक गरे। यो अभियानका लागि‘ साउन महिना डेंगी सचेतना’ महिनाको रूपमा घोषणा गरे। यो कार्यक्रमबाट लाखौ मान्छे सुरक्षित हुन सम्भव रहेको बराकोटीले जनाए।

सो अनुसार ‘हरेक शुक्रवार सफा शुक्रवार’ मार्फत सवै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजननस्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ।

दोस्रो कार्यक्रम अन्तर्गत ‘हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट’ समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’ नाराका साथ खोज र नष्ट अभियान सञ्चालन गर्ने, डेंगी नियन्त्रणका लागि रणनीति र समुदाय स्तरमा गर्नु पर्ने गतिविधिबारे संघ, प्रदेश र स्थानीय तहहरूमा छलफल र पैरवी गर्ने कार्यक्रम रहेको छ।

यो अभियानको लागि निजी विद्यालय, युवा क्लव, छाता संगठनहरू, विद्यालय र विद्यार्थीहरूलाई परिचालन गरी डेंगी नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी हरेक वडामा घरदैलो कार्यक्रम अभियानमा पोष्टर र सञ्चार माध्यमद्धारा डेंगीको जोखिम लक्षण र रोकथामबारे जनचेतना अभिायन सञ्चालन गर्ने कार्यक्रम रहेको छ। डेंगी संक्रमण हरेक वर्ष भएकाले पनि जोखिम बढेको उनको भनाइ छ। सोेही क्रममा मन्त्री पौडेलले स्थानीय, प्रदेश सरकार र संघको सहकार्यवाट डेंंगी नियन्त्रण सम्भव भएको बताए।

महाशाखाले बुधवार नै डेंगी नियन्त्रण हाते पुस्तिका सार्वजनिक गरेको छ। उक्त पुस्तकभित्र डेंगीको परिचय, डेगी सार्ने लामखुट्टे सम्वन्धी जानकारी, डेंगीको लक्षण तथा उपचार, डेंगीको रोकथाम तथा नियन्त्रण लगायतका विषय उल्लेख छन।

तीनै तहलाई परिचालन गर्न जोखिम स्थानीय तह र कम जोखिम हेरी यो वर्ष डेंगी नियन्त्रणका लागि बजेट बिनियोजन गरेको बराकोटीले बताए। उनको अनुसार ४ करोड ६५ लाख ९३ हजार डेगी नियन्त्रणको लागि बजेट विनियोजना गरिएको छ। जसमा कोशी २३ लाख ७५ हजार, मधेश १९ हजार, बागमती १२ लाख ३५ हजार, गण्डकी १९ लाख ९५ हजार, लुम्विनी २२ लाख ८० हजार, कर्णाली १८ लाख र  सुदुरपश्चिमको लागि २३ लाख ७५ हजार रहेको छ। वर्ष डेंगी संक्रमणबाट ६० हजार विरामी पर्ने विश्व स्वास्थ्य संगठनले आंकलन छ।  

प्रकाशित: १ श्रावण २०८२ ११:०९ बिहीबार

# Nagarik