पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित भ्रमण गराउने र पर्यटन क्षेत्रको जानकारी दिलाउने उद्देश्यले एकीकृत रुपमा सूचना प्रवाह गर्न थालिएको छ। त्यसका लागि क्यूआर कोड तयार पारिएको छ। उक्त क्यूआर कोडमार्फत पर्यटकले पोखराभित्र घुमघाम गर्दा आवश्यक पर्ने सूचना र सचेतनाबारे जानकारी पाउनेछन्।
पर्यटकले पोखरा भित्र घुमघाम गर्दा अपनाउनुपर्ने सजगताबारे पनि उक्त क्यूआर मार्फत जानकारी पाउनेछन। पर्यटकलाई सूचना दिलाउनका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा क्युआर कोड सञ्चालनमा ल्याइएको छ। क्युआर कोड स्क्यान गरेपछि स्वदेशी तथा विदेशी पर्यटकले पोखराभित्र रहेका प्रहरी चौकी र सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, भ्रमणका सूचना सहजै प्राप्त गर्न सक्नेछन्।
एकीकृत सूचना प्रवाहको सुरु गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र जिसीले आपतकालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी नहुँदा असहज हुने गरेकोमा अबको यात्रा सहज हुने अपेक्षा रहेको बताए। पर्यटकले आफले चाहेको सूचना सहजै पाउने भएपछि त्यसले यात्रा सुरक्षित र मर्यादित बन्ने उनले बताए।
‘सूचना प्रवाह सहज हुँदा यात्रा सुरक्षित हुन्छ। त्यसो हुँदा पर्यटनमा सकारात्मक प्रभाव पार्छ। पर्यटन क्षेत्रका सकारात्मक सन्देश प्रवाह हुन्छ। पर्यटकको विश्वास पनि बढ्छ,’ उनले भने, ‘पछिल्लो समय पर्यटकले सूचना नपाउँदा केही असहज महसुस गरेका थिए। अब भने सहज हुने अपेक्षा छ।’
डिआजी जिसीले गण्डकी प्रदेशमा आउन पर्यटकको सुरक्षाका लागि प्रहरी हर क्षण सक्रिय भएर लागेको बताए। पर्यटकीय क्षेत्रको सुरक्षाका लागि थप प्रहरी समेत परिचालन गरेको उनले जानकारी दिए। पर्यटकलाई प्रहरीले त्यतिकै खानतलासी नगर्ने बताउदै कहिलेकाँही शंकास्पद अवस्थामा मात्रै पर्यटकलाई चेक जाँच गर्ने समेत उनले जानकारी दिए। उनले होटल तथा भाडाका कोठामा लामो समय बस्ने व्यक्तिबाट हुनसक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहनु पर्ने बताए।
उनले भने, ‘प्रहरीले शंकास्पद गतिविधिमाथि सुक्ष्म निगरानी बढाएको छ,’ उनले थपे, ‘होटल व्यवसायी र घरधनीले आफ्ना पाहुनाको पहिचान सुनिश्चित गरी कुनै शंकास्पद गतिविधिको सूचना तत्काल प्रहरीलाई उपलब्ध गराउनुपर्छ।’
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो सर्त भएको बताए। उनले व्यवसायी र प्रहरीबिचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताए। पहारीका अनुसार पर्यटकले एकपटक क्यूआर कोड स्क्यान गरेपछि पोखरा भित्रका घुम्ने ठाउँ, पोखरा भित्र कुनै समस्या परेमा जानकारी गराउनका लागि रहेका प्रहरी चौकी, स्वास्थ्य समस्या परेमा उपचारका लागि जानुपर्ने अस्पताल, सवारीका लागि पार्किङ क्षेत्र, सार्वजनिक शौचालय लगायतबारे जानकारी पाउनेछन्। पर्यटकले पोखरामा के गर्न हुने र नहुने भन्ने जानकारी पनि त्यही क्यूआर बाट पाउनेछन्।
उक्त क्यूआरमा सडक सुरक्षाका १० वटा नियमलाई पनि समेटिएको छ। चालकलाई जिम्मेवार बनाउँदै वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) साथमा राख्ने, मदिरा तथा लागूपदार्थ सेवन नगर्ने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने लगायतका नियम पनि उपलब्ध गराइएको छ। त्यस्तै पर्यटकलाई उपलब्ध गराइएको उक्त जानकारीमा नेपालका कानुन, स्थानीय परम्परा, धर्म, संस्कृति तथा सामाजिक मूल्य–मान्यताको सम्मान गर्न, दर्ता भएका ट्राभल, ट्रेकिङ, होटल, लज तथा अन्य एजेन्सीको सेवा मात्र प्रयोग गर्न पनि अनुरोध गरिएको छ।
पोखरा पर्यटन परिषद्का पुर्व अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरा भित्रिएका पर्यटकको सुरक्षाका लागि सहरभित्रका मुख्यमुख्य ठाउँमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताए। उनले आधुनिक क्यामेरा जडान गरेर पोखरालाई अझ सुरक्षित शहर बनाउन आवश्यक रहेको बताए। त्यसैगरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गमा हुने सम्भावित दुर्घटना र आपत्कालीन अवस्थामा तत्काल उद्धार गर्न विभिन्न स्थानमा सुरक्षाका स्थायी युनिट स्थापना गर्नुपर्ने बताए।
यस्तै, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकल मार्फत पछ्याउने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यानाकर्षण गराए।
प्रकाशित: १३ श्रावण २०८३ १७:२६ बुधबार



-600x400.jpg)

