२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बम विस्फोटबाट घाइते ‘विप्लव’ कार्यकर्ताको प्रहरी निगरानीमा उपचार

बम बिस्फोटमा परेर घाइते भएका विप्लव समूहका कार्यकर्ता। तस्बिर: नागरिक

बम विस्फोटबाट घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्ताको प्रहरीको निगरानीमा उपचार भइरहेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित स्वास्थ्य कार्यालय नजिक एक घरमा बम बनाउने क्रममा बुधबार बेलुका ८ः१० बजेतिर विस्फोट भएको थियो।  

विस्फोटमा परेर सल्यान बागचौर नगरपालिका वडा नम्बर २ निवासी विप्लव समूह निकट विद्यार्थी संगठनका बाँके अध्यक्ष डिल्लीबहादुर डि.सी (क्षेत्री) र सोही संगठनमा आवद्ध कैलाली घोडाघोडी वडा नम्बर १ निवासी धर्मराज सुनार घाइते भएका थिए।  

उनीहरु दुवै जनालाई भेरी अस्पताल नेपालगन्जमा लगेर प्रारम्भिक उपचार गरिएकोमा बुधबार राती नै थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको र अहिले पनि उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए।

‘दुवै जनाको अवस्था गम्भिर छ, दुवै जनालाई आईसियुमा राखेर उपचार भइरहेको छ,’ डिएसपी घर्तीले नागरिकसँग भने ‘प्रहरीले उनीहरुलाई अस्पतालमा विशेष निगरानीमा राखेको छ।’ घटनास्थल रहेको घरको कोठाभित्र प्रेसर कुकरका टुक्रा, विस्फोटक पद्धार्थ, परिचय पत्र, कागजात, रसिद, पर्चा, पम्प्लेट लगायत पनि फेला परेको प्रहरीले जनाएको छ। ‘कोठाभित्र फेला परेका दस्तावेजका आधारमा उनीहरु विप्लव समूहका कार्यकार्य भएको पुष्टी भइसकेको छ,’ प्रवक्ता घर्तीले भने।  

विस्फोट पश्चात घरभित्र फेला परेका थप दुई वटा प्रेसर कुकर बमलाई नेपाली सेनाले बुधबार राती डिस्पोज (निष्कृय) गरेको थियो। स्थानीय दिवाकर बिक्रम मल्लको घरभित्र थप दुई वटा प्रेसर कुकर बम भेटिएपछि नेपालगन्जको राँझास्थित बज्रदल गणमा कार्यरत नेपाली सेना आएर बुधबार राती साढे १० बजेतिर एउटा र राती ११ बजेतिर अर्को बमलाई सुरक्षित रुपले डिस्पोज गरेका थिए। करिव २ सय मिटर टाढा खेतमा लगेर सेनाले बम डिस्पोज गरेको थियो।

बम बिस्फोट भए लगत्तै उक्त घरबाट निस्केर अन्य ३ जना ब्यक्ति मोटरसाईकल चलाएर भागेको कुरा प्रत्यक्षदर्शीले बताएपनि प्रहरीले एकिन गरेको छैन। ‘घटनाको अनुसन्धान सुरु गरेका छौं, घटनामा संलग्न ब्यक्तिहरु घाइते भएको हुँदा उनीहरुसँग विस्तृत कुरा लिन सकिएको छैन, सामान्य सोधपुछ मात्रै गरेका छौं, विस्तृत अनुसन्धानबाट पछि खुल्नेछ,’ घर्तीले भने।

उक्त घरमा विप्लवका कार्यकर्ता करिव एक वर्षदेखी डेरा गरेर बस्दै आएपनि मल्ल परिवारले उनीहरु कलेज पढ्ने बिद्यार्थी भएको कुरा मात्र थाहा पाएको प्रतिक्रिया दिएका छन्। निर्वाचनको मुखमा भएको उक्त घटनापछि नेपालगन्ज उपमहानगर क्षेत्रमा त्रास फैलिएको छ। यही मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी बम विस्फोट गराउने योजना विप्लप समूहले बनाएको यस घटनाले पुष्टी गरेको प्रहरीको भनाई छ।

प्रकाशित: १ मंसिर २०७९ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App