३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

चुनावको मुखमा नक्कली नोटको बिगबिगी

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति नजिकिँदै जाँदा नक्कली नोटको कारोबार पनि फस्टाएको देखिएको छ।

केही हप्ता पहिले नक्कली नोट रौतहट र सर्लाहीमा बरामद भएको थियो भने रौतहट र बाराको सिमाना क्षेत्रबाट पनि रौतहट प्रहरीले ८७ हजार रुपैयाँ नक्कली बरामद गरेको छ। नक्कली नोटको कारोबारमा पूरा परिवार नै संलग्न रहेको पाइएको छ।

रौतहट प्रहरीले बाराको एकै परिवारका तीन जनालाई पक्राउ गरेसँगै नक्कली नोटको कारोबारमा परिवार नै संलग्न रहेको देखिएको हो। नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा कारोबारीको पहुँचमा पुगेको प्रहरीमाथि कारोबारीहरुले आक्रमण गरेको छ।

घटना रौतहटको मौलापुर नगरपालिका अन्तर्गत पर्ने सगैया पिपरिया र सोनरनिया बीचको बाटोमा भएको हो। मौलापुर नपाको सगैया पिपरिया र सोनरनियाको बिच बाटोमा पैसा साटदै गरेको बेला जाली नोट ८७ हजार बरामद भएको छ। सूचनाको आधारमा प्रहरी नै जाली नोट साट्न व्यापारी बनेर नक्कली नोटको कारोबार गर्नेलाई नियन्त्रणमा लिएको हो।

जाली बोट कारोबारीलाई नियन्त्रणमा लिएपछि गाउँलेले प्रहरीमाथि आक्रमण गरेको छ। गाउँले तथा प्रहरीसितको झडपमा सात प्रहरी र दुई म्यादी प्रहरी गरी ९ सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले आत्म रक्षाका लागि दुई राउन्ड गोली हवाइ फायर गरेको प्रहरीले जनाएको छ।

नक्कली नोटको कारोबारमा संलग्न बारा आदर्श कोतवाल गापा ९ पटेरवाका २५ वर्षीय सोनु भन्ने आनन्द कुशवाहा र ४२ वर्षीय आमा प्रतिमा देवी सिन्हा र बहिनी २० वर्षकी बहिनी अम्बिता कुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीनै जना एकै घरपरिवारका रहेका छन्।

बारा आदर्श कोतवाल गा.पा. ६ पटेरवाका १९ वर्षीय बृजकिशोर मुखिया, रौतहट मौलापुर सगैया पिपरियाका २३ वर्षीय राजाराम साह र थप एक जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै सगैयास्थित राजाराम साहको घरमा प्रहरीले खानतलासी गर्दा हतियार समेत बरामद भएको छ।

कटुवा पेस्तोल बरामद भएपछि साहका बुवा बिन्दा साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चुनावको मुखमा नक्कली नोटको कारोबारी नक्कली नोटसहित पक्राउ परेको तथा पूरा परिवार नै कारोवारमा संलग्न रहेको पाइएकोले बजारमा नक्कली नोट गएको हुन सक्ने आशंका गरिएको छ। 

प्रकाशित: २५ कार्तिक २०७९ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App