आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रममा सहरका मतदाताले कम चासो देखाएका छन्।
मतदाता शिक्षाका लागि खटिएका स्वयंमसेवकले टोल–टोलमा आयोजना गरिएको भेलामा कम संख्यामा अनुपस्थित र मतदाता शिक्षाका लागि घरदैलोम पुगेको अवस्थामा समेत समय अभाव लगायतका कारण देखाउने गरेका छन्।
जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमार्फत् प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाइएकोमा शहरबजारमा चासो कम र ग्रामीण क्षेत्रमका मतदाता खेतबारीमा व्यस्त भएकाले कार्यक्रमप्रति अनिच्छुक देखिएको पाइएको हो।
गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी भएको अवस्थामा समेत कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन। मतदाता शिक्षाका लागि खटिएका सहजकर्ताले सार्वजनिक स्थानमा शिक्षा दिन सहज भएपनि टोल-टोलमा कम सहभागीता स्टाफ नर्स चन्द्रप्रभा भण्डारीले बताइन्।
‘धेरैले आफूलाई जानकारी भएको बताउँनुहुन्छ, ‘टोल–टोलमा पुगेर शिक्षा दिइरहेका छौं’ बानियाँले भनिन्। उनीजस्तै स्टाफ नर्स प्रियंका पौडेलले ज्येष्ठ नागरिकले चासो देखाउने गरेपनि यूवापुस्ताको रुची कम रहेको बताइन्। उनले घरदैलोमा समेत पुगेर मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायतका निर्वाचन प्रक्रियाको बारेमा मतदातालाई जानकारी दिने गरिएको छ।
यता मतदाता शिक्षाको लागि छनोट भएका महिला स्वास्थ्य स्वंयसेविकालाई मतदाता शिक्षा सहजीकरण तालिम लिएर कार्यक्षेत्रमा खटिएको जिल्ला निर्वाचन अधिकृत भिमप्रसाद घिमिरेले बताए। ‘ग्रामिण क्षेत्रका मतदाता खेतबारीमा छन्,‘जहाँ सहज हुन्छ त्यही पुगेर शिक्षा दिन अनुरोध गरेका छौं’ घिमिरेले भने। उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन, साम्रागी उपलब्ध गराएको बताए।
बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका ४५ वटै वडाका टोल–टोलमा सहजकर्ता पुगेको निर्वाचन अधिकृत घिमिरेको भनाइ छ। उनले राजनीतिक दलमा उम्मेदवारहरुले मत माग्न जाँदा मत हाल्ने तरिका सिकाउँदा मतदाता शिक्षा थप प्रभावकारी हुने बताए।
निर्वाचनमा मतदाता बढाउने र बदर मत खस्ने प्रतिशत न्यूनीकरण गर्नमतदाता शिक्षा कार्यक्रमको समन्वय गर्न जिल्ला स्तरीय समिति, मतदाता शिक्षा समन्वय समिति (स्थानीय तहस्तर) र मतदाता शिक्षा सञ्चालन समिति (वडा स्तर) को समिति समेत बनाइएको छ।
मतदाता शिक्षामा खटिएकाले धेरै मतदातालाई चारवटा मतपत्र हुन्छ भन्ने नै जानकारी नभए मतदान प्रक्रियामै अलमल पर्ने देखिएको बताएका छन्। गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मतदाता शिक्षामा कमजोरी भएकै म्याग्दीमा गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४ हजार ७९९ अर्थात १.१६ प्रतिशत पूर्णरुपमा बदर मत बदर भयो।
मतदानमा सहभागी मतदाताले सबै उम्मेदवारलाई मत हाल्न नजान्दा ३२ हजार ३८१ मत अर्थात् ७.७९ मतलाई समेत शतप्रतिशत सदर हुन नसकेको अभिलेखले देखाउँछ। २०७४ सालको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ४७ हजार ४४९ मत खसेकोमा समानुपातिकको प्रतिनिधिसभातर्फ चार हजार ६८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार ७७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४.८१ प्रतिशत र दुई वटै प्रदेशसभामा एक हजार ४८३ ३.१२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयको अभिलेख छ। प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेदवार प्रतिस्पर्धामा छन्। बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ मतदाता छन्।
मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन्। ६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल, ११९ वटा मतदान केन्द्र र ८६ हजार जना मतदाता छन्।
प्रकाशित: २५ कार्तिक २०७९ ०६:३९ शुक्रबार