९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

एनपिएल: सामाजिक सञ्जालमा ३७ करोड ५७ लाखभन्दा बढी ‘भ्यूज’

नेपाल प्रिमियर लिग (एनपिएल) ले आफ्नो दोस्रो सिजनको सामाजिक सञ्जाल रिपोर्ट सार्वजनिक गरेको छ।

बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार एनपिएलले डिजिटल प्लेटफर्ममा ऐतिहासिक सफलता हात पारेको छ।

एनपिएलले जारी गरेको रिपोर्ट अनुसार प्रतियोगिता अवधिभर विभिन्न डिजिटल प्लेटफर्ममा कुल ‘भ्यूज’ ३७ करोड ५७ लाख नाघेको छ।

रिपोर्ट अनुसार एनपिएलका सामग्रीहरूमा १ करोड ५९ लाख भन्दा बढी ‘इन्गेजमेन्ट’ प्राप्त भएको छ। प्रतियोगिताको अवधिमा एनपिएलका आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलहरूमा ३ लाख १३ हजारभन्दा बढी नयाँ फलोअर्स थपिएका छन्।

कुन प्लेटफर्ममा कस्तो नतिजा ?

सबैभन्दा धेरै ‘भ्यूज’ फेसबुक र टिकटकमा देखिएको छ। रिपोर्टअनुसार फेसबुकमा १६ करोड २३ लाख भ्यूज र १ करोड २० लाख इन्गेजमेन्ट प्राप्त भएको छ। फेसबुकमा १ लाख २४ हजार नयाँ फलोअर्स थपिएका छन्।

यस्तै, टिकटकमा पनि १६ करोड २३ लाख भ्यूज पुग्दा यसको ‘रिच’ ७ करोड २० लाख पुगेको छ। टिकटकमा ६७ हजार नयाँ फलोअर्स जोडिएका छन्।

इन्स्टाग्राममा ११ करोड ७५ लाख भ्यूज र ३८ लाख इन्टरयाक्सन भएको छ भने युट्युबमा ३९ लाख भ्यूजसहित ३ लाख ५५ हजार घण्टा ‘वाच टाइम’ पुगेको छ। ट्वीटर (एक्स) मा पनि १३ लाख भ्यूज प्राप्त भएको तथ्यांकमा उल्लेख छ।

एनपिएलले भिडियो सामग्रीलाई प्राथमिकता दिँदा डिजिटल प्लेटफर्ममा बलियो उपस्थिति जनाउन सकेको निष्कर्ष निकालेको छ।

म्याचका दिन राखिएका सामग्रीले ‘रियल टाइम’ मा उच्च इन्गेजमेन्ट गराएको र फोटो तथा ग्राफिक्सको एकरूपताले प्रशंसकहरूसँग भावनात्मक सम्बन्ध जोड्न मद्दत गरेको रिपोर्टमा उल्लेख छ।

यो तथ्यांक सन् २०२५ को नोभेम्बर १७ देखि डिसेम्बर २० सम्मको अवधिको भएको एनपिएलले जनाएको छ।

प्रकाशित: २३ पुस २०८२ १८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App