प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।
गण्डकी प्रदेशको भ्रमणलगत्तै लुम्बिनी प्रदेश पुगेकी प्रधानमन्त्री कार्कीले आज बुटवलमा प्रदेशका उच्च अधिकारीहरूसँग चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिँदै यस्तो निर्देशन दिएकी हुन्।
बुटवलमा आयोजित छलफलमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री र नेपाली सेनाको मध्यपश्चिम पृतनाका पृतनापति हिम्मतबहादुर विष्टले प्रदेशका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, निर्वाचन तयारी र सुरक्षा योजनाबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए।
ब्रिफिङमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्रीसहित रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीहरूको सहभागिता थियो।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन बहिष्कारको नाममा जनतालाई आतंकित पार्ने र अवैध रकम असुली गर्ने प्रवृत्तिलाई समयमै निरुत्साहित गर्न सुरक्षा निकायलाई निर्देशन दिइन्। उनले निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूको पहिचान गरी कडा निगरानी राख्न समेत सचेत गराइन्।
‘अहिले बहिष्कार पनि एक प्रकारको सजिलो व्यवसायजस्तो भएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘जनतामा जानु नपर्ने, संगठन बनाउनु नपर्ने, तर दुई चार जना मिलेर बहिष्कारको हल्ला फिँजाउने र चन्दाका नाममा असुली गर्ने प्रवृत्ति देखिएको छ। राजनीति गर्ने हो भने जनतामा मत माग्न जानुपर्छ। यस्ता अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्छ।’
प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक निकास दिनका लागि निर्वाचन सफल बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै सबैलाई संयमित भएर लाग्न आग्रह गरिन्।
‘निर्वाचन आफैमा जित-हारको प्रतिस्पर्धा हो, त्यसैले सम्भावित झडप र विवादप्रति सुरक्षा निकाय चनाखो हुनुपर्छ,’ उनले भनिन्, ‘जस्तोसुकै चुनौती आए पनि हामीले सामना गरेर अघि बढ्नुपर्छ, यो देश हामी आफैले बनाउने हो।’
सुरक्षा अधिकारीहरूले छोटो समयमै मिहिनेत गरेर निर्वाचनको वातावरण बनाएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्दै धन्यवाद समेत दिइन्।
सुरक्षा ब्रिफिङपछि प्रधानमन्त्री कार्की नेतृत्वको टोलीले आजै बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन र निरीक्षण गरेको छ।
टोलीमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल सहभागी छन्।
यसअघि प्रधानमन्त्री कार्कीले कोसी प्रदेशका विभिन्न जिल्ला, मुस्ताङका हिमाली बस्ती र गण्डकी प्रदेशको भ्रमण गरी निर्वाचन तयारीको निरीक्षण गरिसककेकी छन्।
प्रकाशित: ९ फाल्गुन २०८२ १९:०० शनिबार





