२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

अलमलमा खोभारी राय : पाँच हजार मतदाताको बजार हल्ला

नयाँ र पुरानाबीच चुनावी रस्साकस्सी चलिरहेका बेला सर्लाहीका पूर्वमन्त्री खोभारी राय यादव पूर्ण मौन देखिएका छन्। पटक–पटक राज्यमन्त्री बनेका राय बेला–बेला चर्चा र विवादमा आइरहने राय मौन बस्दा पनि मानिसहरूमा कौतुहलता पैदा भएको छ। कुनै समय काठमाडौंस्थित दरबारमार्ग र ठमेल रायलाई भेटिनु सामान्य जस्तै हुन्थ्यो। जुवा खालबाट धेरै पटक पक्राउ परेका उनी अहिले मौन रहनु पनि एक प्रकारले कौतुहलता उत्पन्न भएको छ।

चुनावी माहोल तातिँदै जाँदा सर्लाहीका पूर्वमन्त्री राय यस पटकको निर्वाचन त्यति सक्रिय देखिएका छैनन्। निर्वाचन र निर्वाचनपछि जुनसुकै प्रकारले चर्चामा आउने राय यतिबेला सर्लाहीका मुख्य बजारमा घाम तापेर बसिरहेका हुन्छन्। 

विगतका निर्वाचनहरूमा सक्रिय रूपमा चुनावी अभियानमा सहभागी हुँदै आएका राय यस पटक भने सार्वजनिक कार्यक्रम तथा राजनीतिक गतिविधिमा खासै ध्यान दिएका छैनन्। उनी सर्लाहीको क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्छन्। उनको क्षेत्रमा यतिबेला नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, पूर्व रक्षामन्त्री हरि उप्रेति क्यासिनो सञ्चालक नरेन्द्र कलवार उम्मेदवार रहेका छन्।

लामो समयदेखि राजनीति गर्दै आएका राय अहिले शान्त जीवन यापन गरिरहेका छन्। चुनावी चहलपहल बढ्दै गए पनि उनले कुनै उम्मेदवारको पक्ष वा विपक्षमा खुला रूपमा धारणा सार्वजनिक गरेका छैनन्। करिब पाच हजार मतको दाबी गरेर पूर्वमन्त्री राय आफ्ना समर्थकहरूलाई एकत्रित गरिरहेका हुन्छन्।  

रायका अनुसार पछिल्लो समय काठमाडौं महानगर पालिकाका प्रमुख बालेन साह उनलाई राम्रो छवि बोकेको नेता लागेपनि उनी रास्वपा प्रबेश गरेर रवि लामिछानेको साथमा गएपछि आफू दुःखी भएको बताउँछन्। यद्यपि, उनले यस विषयमा सार्वजनिक रूपमा धेरै बोल्न चाहेका छैनन्।

उनले राजनीति गर्दा आफ्नो थुप्रै सम्पत्ति खर्च भइसकेको बताउँदै अहिलेको निर्वाचन पहिले भन्दा अत्यन्त खर्चिलो भएकाले चुनाव लड्न हिच्किचाएको बताउँछन्। उनी भन्छन्, 'धेरै पार्टीका नेताहरू टिकट लिएर मेरो घरसम्म आए, तर मैले अस्वीकार गरेँ।' राय आफ्ना समर्थकहरूलाई कहिल्यै बिर्सिन नसक्ने र उनीहरूले नै आफूलाई बिर्सून् भनेर मिडियामा समेत धेरै नआएको बताए। उनले भने, 'समर्थकहरूलाई बिर्सिए पाप लाग्छ भन्ने मेरो विश्वास छ।'

रायको राजनीतिक यात्रा पञ्चायती व्यवस्थादेखि सुरु भएको उनले २०४३ सालदेखि सक्रिय राजनीति सुरु गरी २०४४ सालमा जिल्ला पञ्चायतको उपसभापति बनेका थिए। २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाबाट सर्लाही क्षेत्र नम्बर ४ मा चुनाव लडेका उनी ३०० मतको झिनो अन्तरले पराजित भएका थिए। उक्त निर्वाचनमा उनले १४ हजार १०० मत प्राप्त गर्दा जनमोर्चाका उम्मेदवार बैनाथ महतो १४ हजार ४०० मत प्राप्त गरि निर्वाचित भएका थिए।

त्यसपछि २०५१ सालको निर्वाचनमा राप्रपाबाटै निर्वाचित भएका राय संसदको अर्थ समितिको सभापति बने। २०५२ सालमा उनी कृषि राज्यमन्त्री नियुक्त भएका थिए भने १६ दिनपछि बाणिज्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी २०५४ सालसम्म उक्त पदमा रहे। २०५५ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएपछि उनी मन्त्री पदबाट पदमुक्त भएका थिए।

२०५६ सालको निर्वाचनमा राप्रपाबाटै चुनाव लडेका राय पराजित भएका थिए। शाहीकालपछि २०६४ सालको संविधानसभा निर्वाचनमा सद्भावना पार्टीबाट सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएर उनी पुनः राज्यमन्त्री बनेका थिए। तर २०७० सालको निर्वाचनमा पराजित भएपछि उनले सक्रिय राजनीतिबाट विराम लिएका हुन्।

यस पटकको चुनावमा उनको मौनताले सर्लाहीको राजनीतिक वृत्तमा विशेष चासो पैदा गरेको छ। लामो राजनीतिक अनुभव र प्रभाव रहेका रायको समर्थन कसलाई जाने हो भन्ने अझै स्पष्ट रहेको छैन।

प्रकाशित: ९ फाल्गुन २०८२ १८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App