१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

भोलिदेखि वर्षा फेरि सक्रिय हुँदै, सोमबार र मंगलबार धेरै स्थानमा भारी वर्षाको सम्भावना

भोलि (आइतबार)देखि फेरि मौसमी प्रणाली सक्रिय हुने भएको छ। मौसमविद् विनोद पोखरेलले नेपालमा आगामी एक साता वा त्यसभन्दा केही बढी समयसम्म वर्षाको क्रम जारी रहन सक्ने पूर्वानुमान गर्दै मौसमी प्रणाली सक्रिय हुने अनुमान गरेका हुन्।

उनका अनुसार कमजोर पश्चिमी वायुको प्रभावका कारण माथिल्लो वायुमण्डलीय बहावसँगै नेपाल आसपास न्यूनचापीय रेखा बन्ने र त्यसको प्रभाव नियमित रूपमा सक्रिय हुने देखिएको छ।

पोखरेलले आगामी दिनमा हुने वर्षा सामान्यतया हल्कादेखि मध्यम खालको हुनेछ। देशभर एकैपटक वा हरेक दिन सबै स्थानमा वर्षा नहुने र वर्षा मुख्यतः अपराह्नपछि सुरु भएर साँझसम्म रहने सम्भावना बढी रहेको बताए।

उनले अक्टोबर ३–४ (असोज १७–१८) मा धेरै स्थानमा हल्का वर्षा हुन सक्ने बताएका छन्। आइतबारदेखि वर्षा केही सक्रिय हुँदै सोमबार र मंगलबार धेरै स्थानमा फैलिने सम्भावना रहेको उनको भनाइ छ। यस क्रममा केही स्थानमा छोटो समयका लागि भारी वर्षासमेत हुन सक्ने उनले बताएका छन्।

त्यसपछि बुधबार वर्षा केही कम हुने तथा बिहीबार पहाडी भेगका केही स्थानमा पुनः हल्का वर्षा हुन सक्ने संकेत देखिएको पोखरेलले बताएका छन्।

उनका अनुसार यो पूर्वानुमान विशेषगरी धान काट्ने तयारीमा रहेका किसान तथा पहाडी र हिमाली क्षेत्रमा हाइकिङ तथा ट्रेकिङमा जानेहरूका लागि उपयोगी हुन सक्छ। दैनिक कामका लागि बाहिर निस्कँदा जिल्लाअनुसारको वर्षा पूर्वानुमानको नक्सा हेरेर तयारी गर्न उनले सुझाव दिएका छन्।

प्रकाशित: १७ आश्विन २०८३ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App