२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चुनाव नजिकिँदै जाँदा अवैध हतियारको प्रयोग

चुनावको मिति नजिकिँदै जाँदा सर्लाहीमा अवैध हतियारको प्रयोग सँगै चुनौती बढेको पाइएको छ। सर्लाहीमा सहकारीका कर्मचारी माथि गोली प्रहारले यसको पुष्टि गरेको हो।

नेपाल-भारत सिमा क्षेत्रभन्दा करिब ३५ किलोमिटरभित्र पसेर तीन भारतीयसहित चार जना अपराधीहरुले बुधबार दिउँसै सहकारी कर्मचारी माथि गोली प्रहार गरेका थिए। घटनामा एक नेपाली पनि संलग्न रहेको पुष्टि भएको छ।

बुधबार सर्लाहीको बागमती नगरपालिका-१ स्थित मिलन चौकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको कार्यालयभित्र नै प्रवेश गरी डकैत गर्ने प्रयास गरेका थिए। अपराधीहरुले तीन थान हतियार बोकेको बुझिए पनि हतियार बरामद हुन सकेको छैन।

सर्लाही प्रहरीले बिहीबार घटनामा संलग्न रहेको भन्दै तीन भारतीयसहित चार जनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्। घटनामा संलग्नहरु पक्राउ परेको भनिए पनि बारदातमा प्रयोग भएको हतियार भने बरामद भएको छैन।

यसैगरी करिब तीन महिना पहिले नेपाल भारत सिमा क्षेत्रसँगै जोडिएको सर्लाहीको त्रिभुवन नगरमा भारतीय क्षेत्रबाट आलुको बोरामा नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी विओपि त्रिभुवन नगरले श्रावण ७ गते छ एमएमको ७ राउण्ड गोलि बरामद गरेको थियो तर हतियार अझसम्म पनि बरामद हुन सकेको छैन। चुनाव नजिकिँदै जाँदा सर्लाहीमा हतियारको बिगबिगी बढेको स्थानीयको भनाइ छ।

बुधबार सर्लाहीको बागमतीमा भएको गोली काण्डका चार आरोपीलाई सर्लाही प्रहरीले सर्वजजिक गरेको छ। सगुन सहकारीका प्रमुख साजन कार्कीलाई गोली हानी फरार भएका अपराधिहरुलाई प्रहरीले नेपाल भारत सिमाक्षेत्रको बलरा नपा ३ लक्ष्मिपुर बाट सर्लाही धनकौल गाउँपालिका १ सेखौनाका धिरेन्द्र सहनीलाई गोली प्रहार गरी समातेको हो।

सहनिको खुटामा गोली लागेको छ। सहनिको उपचार प्रहरी निगरानीमा सदरमुकाम मलङवामा भइरहेको छ। प्रहरीले भारत बिहारको मोतिहारि सिगारगंजका १९ वर्षीय गुल्शन सिंह, बैशालि सुलतानपुरका १९ वर्र्षीय सौरभ यादव र शिवहर तरियनजीका १९ वर्षीय रेहान सिंहलाइ पक्राउ गरेको छ। पक्राउ परेका चारै जना भारतमा लुटपाटमा संलग्न भइ २२ महिना जेल सजाए भुक्तान गरी बाहिर निस्केका अपराधी हुन्।

उनीहरु भारतीय जेलबाट छुटेपछि सर्लाहीको सहनीको योजनामा भारतबाट नेपाल तर्फ प्रवेश गरी बैंक तथा वितिय संस्था लुटपाट गर्ने योजना नै सुरुदेखि बनाउदै आएको सर्लाही प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनबाट खुलेको छ। अवैध हतियार नियन्त्रण गम्भीर चुनौतीको रुपमा रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमा बताउँछन्।

नेपाल–भारत खुल्ला सिमाना भएको कारण साना खालका अवैध हतियार र अवैध हतियारले गोली प्रहारको घटनाले गम्भीर चुनौतीको रुपमा रहेको देखिएको छ। विवाह, ठेक्का पट्टा, राजनैतिक विवाद तथा विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा पनि अवैध हतियारको बिगबिगी देखिने गरेको छ।

ठाउँ-ठाउँमा प्रहरी चेक बढाएको, सूचना संकलनमा गम्भीर भएर लागेको र बोर्डरमा कडा निगरानी बढाएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपि बिजय यादवको कथन छ। नेपाल–भारत खुल्ला सिमाना भएकोले सीमित स्रोत साधनको आधारमा दिनरात खटेर अपराध नियन्त्रणका सबै उपाय अपनाइरहेको उनले स्पष्ट पारेका छन्।

प्रकाशित: ३ कार्तिक २०७९ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App