१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘भौतिक आक्रमणले मेरा सपना रोकिँदैनन्’

विश्वले अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइरहँदा नेपाली बालिका भने नेपालमा बालिकामाथि हुने गर्भदेखिकै हिंसा रोक्न घरपरिवारबाटै सोच परिवर्तन गर्नुपर्ने बताउँछन्। उनीहरूले आमाका गर्भमा छोरी भएको थाहा पाउनासाथ लिंग पहिचान गरी गर्भपतन गराउने र छोरा भए घरपरिवारै खुसी हुने गलत प्रवृत्ति रहेकाले यसलाई घरपरिवार र आफूबाटै रोक्न आग्रह गरेका छन्।

१४ वर्षको किशोरवयमै एसिड आक्रमणमा परेकी मुस्कान खातुनले भने जुनसुकै भौतिक आक्रमणले बाहिरी सुन्दरता मात्र कुरूप बनाउने तर सपना कहिल्यै नरोकिने सन्देश दिएकी छन्। मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सञ्चारिका समूह र युएनएफपिएको सहकार्यमा ‘हाम्रो पालो, हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने नाराका साथ मनाइएको दशौं बालिका दिवसमा मुस्कानले मार्मिक तर साहसिक सन्देश दिँदै बालिकामाथि गर्भावस्थादेखि हुँदै आएको विभेद रोक्न अब घरपरिवारबाटै सोच बदल्नुपर्ने सुझाइन्। मंगलबार आयोजित कार्यक्रममा उनले बलियो आत्मविश्वासका साथ आफ्ना सपना पूरा गर्न छोरी आफैं अगाडि बढ्नुपर्नेमा जोड दिइन्। ‘छोरी हुँ भन्दै कहिल्यै दबिएर बस्नु हुँदैन’, उनले हौसला दिइन्, ‘बालिका दिवसका दिन मात्र बोल्ने होइन, हामीले आफ्नो हकअधिकारका बारेमा घरपरिवार र समाजमा निरन्तर आवाज उठाउनुपर्छ अनि मात्र छोरा र छोरीबीचको विभेद कम हुन्छ।’ उनले आफू पनि आक्रमणमा पर्दा परिवारकै साथ र सहयोगकै कारण पीडितबाट सामाजिक अभियन्ताका रूपमा स्थापित भएको गर्वसाथ सुनाइन्।

‘मेरो घरपरिवारमा बुबाआमाले छोरा र छोरीमाथि कहिल्यै विभेद गर्नुभएन। १४ वर्षको उमेरमा ममाथि एसिड प्रहार भयो; शरीर कुरूप भयो; तर मेरा सपना मरेका छैनन्’, उनले साहसिक स्वरमा भनिन्, ‘म कुरूप भएँ भन्दै कोठामा लुकेर, रोएर बसिनँ। बुबाआमा र परिवारको साथ पाएँ।’ उनले निर्भयताका साथ सन्देश दिइन्, ‘छोरीहरू कहिल्यै कमजोर छैनन्। हुँदैनन् पनि। त्यही भएर म यहाँसम्म आइपुगेकी छु। बालिका हिंसाविरुद्ध आवाज उठाउनुपर्छ भन्नेबारे ममा आत्मविश्वास बढ्यो र यहाँसम्म आइपुगें।’

प्रकाशित: ३ कार्तिक २०७९ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App