२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सहरीकरणसँगै घरघरमा कौसीखेती

बढ्दै गएको सहरी बसाइको आकर्षणले गर्दा ग्रामीण क्षेत्र र पहाडी जिल्लाबाट बसाइँसराइ गर्ने क्रमले गाउँका थुप्रै फाँटहरू बाँझै छन्। तर सहरमा बसाइँ सरी आएकाहरूले घरको कौसी, बरन्डा र घरको कुनै खाली ठाउँमा कौसीखेती थालेका छन्। सहरी क्षेत्रमा खेतीयोग्य जमिनको अभावका कारण कौसीखेतीको अवधारणा विकसित भएको हो।  

जहाँ तरकारी, फलफूल, जडिबुटीजस्ता खेती गरिन्छ। भारतबाट आयात गरिने तरकारी र फलफूलमा विषादी जाँचबारे विवाद चलिरहँदा विज्ञहरूले कौसीखेती गर्ने क्रम झन् बढ्दै गएको पाइएको छ। सहरी क्षेत्रमा खेतबारीको अभाव हुने हुनाले दैनिक उपभोग्य वस्तु उत्पादनका लागि कौसीमा नै खेती गर्नु परेको गोदावरी नगरपालिका चापागाउँ वडा नं ९ का सलिना श्रेष्ठले बताइन्। कौसीखेतीले उपयोगमा नआएको घरको क्षेत्र आदि सदुपयोग भएको पनि जानकारी दिए। रासायनिक विषादीको मात्रा धेरै हुने गरेकाले विषादी प्रयोग नगरिएका वस्तु केही मात्रामा भए पनि उपभोग गर्न कौसीमा खेती गरेको पाइयो। उपत्यकाभित्र रहेका छतहरूमा खेती गरिएमा तरकारी आयात आधा कम हुनसक्ने श्रेष्ठ बताउँछिन्।  

कौसीखेतीमा जनसंख्याको ठूलो हिस्सा लागेका कारण फोहोरमा पनि ७० प्रतिशतभन्दा बढी कुहिने फोहोर निकालेर कौसीखेतीमै प्रयोग हुने गरेको उनले बताइन्। कुहिने फोहोर गमलामा राखी प्रयोग गर्न सकिने र बाँकी रहेको नकुहिने फोहोर जस्तै प्लास्टिक, सिसाआदि अन्य वस्तुलाई फोहोरमा व्यवस्था गर्न सकिने पाइयो। हरियाली कायम गर्न वा स्वच्छ वातावरण कायम गर्न कौसीखेती प्रयोगमा ल्याइएको पनि भेटियो। बिरुवाको जीवनचक्र जानेका शिक्षित व्यक्तिले तरकारी र फलफूलको उत्पादनबारे कौसीखेतीलाई व्यावहारिक पाठशालाको रूपमा ग्रहण गरेको पनि पाइयो।

प्लास्टिकको गमला वा माटो, टिन, आधा पारिएको ड्रम, बोराआदि जस्ता वस्तुहरू प्रयोगमा ल्याएर कौसीखेती हुने गरेको छ। कुनै पनि भाँडोको पिँधमा आवश्यकताअनुसारको सानो प्वाल बनाई हावापानीको निकास गरिँदो रहेछ। कौसी तरकारीमा ज्यामी लगाउनु पर्दैन रहेछ। घरबाट निस्किएको कुहिने फोहोरलाई मल बनाई माटोसँग मिसावट गरी बिरुवा रोपिएको सलिना श्रेष्ठले बताइन्। माटोलाई कमलो बनाउन अन्डाको बाहिरी बोक्रा, नरिवलको जटा, पकाएको चियापक्ति, कफीको बोव्रmा साथै बिरुवामा किराको संक्रमण नहोस् भनी खरानी राख्ने गरेको पाइयो। उनले भनिन्, ‘बिरुवामा पानी हाल्ने बेलामै तरकारी खान भयो भएन हेर्नुपर्ने उनले बताइन्। दैनिक तपाईको हात लगाउनु भनेको त्यो बिरुवालाई माया गर्नु पनि हो। बिरुवाले पनि माया गरेको थाहा पाउँछ र छिट्टै बढ्छ।’  

मौसमअनुरूप बाली, सिँचाइ र पानीको निकासको व्यवस्था र सूर्यको घाम पर्ने स्थान छनोट गरिनुपर्ने रहेको जानकारी पाइयो। कौसीखेतीको सम्भाव्यता, आवश्यकता र व्यवस्थापनबारे मानिसलाई सचेत बनाउन सकेमा आर्थिक रूपमा भान्साको खर्च कटौती गर्ने, फोहोरमैला व्यवस्थापन गर्न, वातावरण सुरक्षा राख्न, रासायनिक विषादीको असरबाट बचाउन, शारीरिक स्वस्थतालगायत फाइदा पाउन सकिने रहेछ।  

नेपालमा विभिन्न जिल्लामा तरकारी तथा फलफूल कृषकले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन सकेका छैनन्। तरकारी छिटो बिक्री गर्नैपर्ने वस्तु हो तर सहर पुर्‍याउन समस्या भएकाले कतिपय कुहिएर बिग्रने समस्याहरू भइरहेकाले गर्दा कौसीखेती नयाँ विकल्प बन्न पुगेको पाइयो।  

आकर्षणका कारण

वैदेशिक रोजगारीका लागि दिनदिनै बिदेसिनुले पनि गाउँका खेतीयोग्य जमिन प्रयोगविहीन बन्न थालेको हो। ग्रामीण क्षेत्रका मानिसहरू अत्यधिक मात्रामा सहरी क्षेत्रमा प्रवेश गरेसँगै सुखी जीवन बिताउनु प्रमुख कारण पनि कौसीखेती बढ्दै जानु हो। सडक पुग्गासाथ प्लटिङ गर्ने क्रम बढ्दै गएपछि बिगाबिगा जमिन घाँसे मैदान भएको छ। खेतीयोग्य जमिनमा प्लटिङ गर्ने क्रम बढ्दै गएकाले सहरी व्यवस्थापन प्याक भएसँगै कौसीखेती बढेको पाइयो। सहरी क्षेत्रका आसपासमा खेती गर्ने जग्गा पाइन छाडेको छ। ग्रामीण क्षेत्रमा सिँचाइ समस्या, अधियाँ बटैया लगाउने प्रचलन हट्दै जानु, जग्गाधनी बाहिरै बस्नुको कारण पनि एक प्रमुख हो। खेतीयोग्य जमिन दुई वर्षभन्दा बढी बाँझो राख्न नपाइने भए पनि कडाइका साथ कार्यान्वयन नहुँदा समस्या भएको पनि पाइयो। सहरी क्षेत्रमा खेतीबारीको अभाव हुने भएकाले दैनिक उपभोग्य वस्तु उत्पादनका लागि कौसीमा खेती गर्ने गरिएको पाइयो। यदि निरन्तर रूपमा कौसी तरकारी गर्ने हो भने हामीले फोहोर गाडीमा फोहोर फाल्न पर्दैन र मासिक रूपमा फोहोर पालेबापत तिर्ने पैसा पनि बचत हुन्छ। त्यसैले कौसीखेतीमा खर्चभन्दा धेरै फाइदा भएको पनि पाइयो।  

बजारमा आउने तरकारी छिटो नाफा कमाउने उद्देश्यले विषादी प्रयोग गरी उत्पादन गरिएको हुन्छ। कौसीखेती आफैंले उपभोग गर्ने हुनाले विषादी प्रयोग नगरी बिरुवाको स्याहारसमेत आफैंले गरिन्छ।  

कौसी तरकारी गर्न ठाउँ कति उपलब्ध छ, त्यसले के के तरकारी उत्पादन गर्ने भन्ने कुराको अट्कल गर्न सकिन्छ। जरा सकभर कम फैलने तथा गहिराइमा सीमित हुने बाली कौसीखेतीका लागि उपयुक्त हुन्छ। खेती गरिने स्थानको हावापानी अनुसारको बाली छनोट गर्नुपर्ने रहेछ। ८ मिटरभन्दा अग्गो ठाउँ उपलब्ध छ भने काँक्रा, फर्सी, लौका, घिरौंलालगायत लहरे बाली लगाउन सकिने रहेछ। यदि ठाउँ अग्लो छैन भने गोलभेंडा, टमाटर, बन्दा, काउली, खुर्सानीलगायत तरकारी उत्पादन गर्न सकिन्छ।

‘छतमा कौसीखेतीका लागि स्थानीय, प्रदेश र संघीय सरकारले प्रभावकारी योजना ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको छ। सहरमा घर हुने तर जग्गा नहुनेका लागि कौसीखेती घरायसी प्रयोजन र सामान्य घर खर्च धान्नका लागि आर्थिक व्यवस्थाको सजिलो माध्यम बन्न सक्छ,’ श्रेष्ठले भनिन्, ‘तिनै तहका सरकारको ध्यान यसमा जानुपर्छ।’  

नीति निर्माण गर्ने तहदेखि परिवारसम्म पनि कौसीखेतीबारे छलफल हुने वातावरण सृजना गर्नु आजको आवश्यकता हो। 

प्रकाशित: २८ भाद्र २०७९ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App