८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

ठेकेदारको लापरवाहीले भैंसेपाटी सडक अलपत्र

नख्खु खोला-भैंसेपाटी सडक निर्माण थालेको ६ वर्ष बितिसक्दा समेत सडक निर्माण सकिएको छैन। दसैंको घटस्थापनाअघि नै सडक निर्माण सक्नेगरी स्थानीय, ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्का, वडा नं. २५ का अध्यक्ष दौलत कुमार खत्री र स्थानीयको बैठकले निमार्णलाई निरन्तरता दिने सहमति भएको थियो। तर सडक निर्माण कछुवाकै गतिमा रहेको स्थानीयको गुनासो छ।

भैंसेपाटीमा मन्त्री क्वार्टर बनिसकेको छ। यहाँ पूर्वउपप्रधानमन्त्रीदेखि विभिन्न विशिष्ट व्यक्ति समेत बस्दै आएका छन्। तर नख्खु-सडकखण्ड ६ वर्षदेखि अलपत्र परेको छ। सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयले पटकपटक गुनासो गर्दा पनि सडक विस्तारको काम कछुवाको चालमा रहेको स्थानीयको गुनासो छ। काठमाडौं उपत्यका सडक विस्तार परियोजना मातहतको उक्त सडक विस्तारका लागि २९ जुलाई २०१६ जुनमा सम्झौता भएको थियो।

सम्झौता अनुसार उक्त सडक विस्तारको काम २८ महिनाभित्रमा सम्पन्न गर्नुपर्ने थियो। सडक विभागको भ्याटसहित २८ करोड ६२ लाख ४९ हजार ७ सय ७७ रूपैयाँ ७६ पैसा लागातमा ठेक्का लागेको थियो। तर ठेकेदार कम्पनीको लापरवाहीका कारण ६ वर्षसम्म पनि उक्त सडक निर्माणको काम सम्पन्न हुन नसकेको हो।

उक्त सडक निर्माणको जिम्मा आशिस विरुवा नामक निर्माण कम्पनीले पाएको थियो। पटकपटक म्याद थप गर्दासमेत निमार्णमा ठेकेदार कम्पनीले लापरवाही गरेपछि स्थानीयले दबाबस्वरूप सडक नै बन्द गराएपश्चात दसैंअघि नै उक्त सडक निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो।

सडक बिग्रिएका कारण बालबालिका विद्यालय आवतजावत गर्न कठिनाइ भएको छ। स्थानीय अजरमान जोसीले सडकमा खाडल परेर, धुलो भएर हिँड्न मिल्ने अवस्था नभएको र सडक निर्माणमा ठेकेदारले बदमासी गरेको गुनासो गरे।

ठेकेदारले लामो समय काम अलपत्र पार्दा यो खण्डमा दैनिक ओहोरदोहोरमा यात्रुले निकै कष्ट भोग्नुपरेको छ। भैंसेपाटी जस्तो ठेकेदारको चरम लापरबाही नेपालमा अरू सडकमा कहीँ नदेखिएको सडक यात्रीहरूको भनाइ छ। सडक खनेर अस्तव्यस्त बनाइएको छ भने दुवै किनारमा गिट्टी थुपारेर झन् साँघुरो पारिएको छ।

केही क्षण घाम लाग्दा धुलाम्य हुने सडक पानी पर्दा हिलोले हिँड्न नमिल्ने अवस्थामा पुग्ने गरेका जोशीले बताए। सडक दुई खण्डमा बाँडेर ठेक्का लगाइएको थियो। पहिलो खण्ड नख्खु खोला–भैंसेपाटी-सोह्रखुट्टेको दुरी ३.५२ किलोमिटर छ।

२०७३ असार ३० गते भएको ठेक्का अनुसार २०७५ कात्तिक ३० गतेभित्र काम सकिसक्नुपर्ने हो। तर अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत मात्र छ। ठेक्का लगाउने निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार ३.५२ किमिमध्ये दुई किमि सडक मात्र कालोपत्र भएको छ। अझै डेढ किमि कालोपत्र हुन बाँकी छ। उनले भने, ‘आजभोलि घाम लागेका बेला पनि सडक निर्माण तीव्र गतिमा नगएको र ठेकेदारको पनि निर्माणमा चरम लापरबाही र बदमासी भएको छ ।’ हिलो र ढिलो सहितको खाडलका कारण दैनिक रूपमा तीन चारजना दुर्घटनामा पर्ने गरेको स्थानिय बताउँछन्। अहिले जथाभावी भत्काएर अस्तव्यस्त बनाइएको छ तर सडक अलपत्र पार्ने ठेकेदारलाई कसैले कारबाही गर्ने हिम्मत गरेका छैनन्।

मन्त्री, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुखलगायत सरकारी उच्चपदस्थ अधिकारीको आवास भैंसेपाटीमै निर्माणाधीन अवस्थामा छ। ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद पम्फा भुसाल अहिले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री छिन्। यही क्षेत्रको सांसद भए पनि वर्षौंदेखि अलपत्र सडकबारे उनले केही नबोलेको स्थानीयको गुनासो छ।

काम नगर्ने ठेकेदारलाई कारबाही गर्न र काम चाँडो सक्न उनले कुनै किसिमको दबाबसमेत दिएकी छैनन्। काम नगर्ने र नटेर्ने ठेकेदारलाई कारबाही गर्न सक्नुपर्‍यो भन्दै स्थानीय महिलाको माग छ। ललितपुर महानगरपालिका वडा न.१८ का अध्यक्ष दामोदर खड्काले भने, ‘ठेकेदार र सडक विभाग दुवैका कारण निर्माणमा ढिलाइ भइरहेको हो। सम्बद्ध निकाय पनि लाचर भएको देखिन्छ,’ खड्काले भने, ‘निर्माण व्यवसायीको बदमासी उस्तै छ, ठेक्का लिएर कामै नगर्ने प्रवृत्तिले यो क्षेत्रका स्थानीय सडककै कारण आजित बनेका छन्।’

सुरु ठेक्का रकम २८ करोड ६२ लाख ५० हजार रूपैयाँ भए पनि अहिले लागत बढाएर ३० करोड ५ लाख रूपैयाँ पुर्‍याइएको छ।

१९ करोड ९६ लाख ९६ हजार रूपैयाँ त भुक्तानी नै भइसकेको छ। यो खण्डको ठेक्का आशिष-बिरुवा-सीएम जेभीले लिएको हो। संयुक्त ठेक्का भए पनि सुरुवाती जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको थियो।

उसले काम नगरेपछि सिएम कन्स्ट्रक्सनले यसको काम गर्दै छ। अहिले सडकको चौथोपटक म्याद थप गर्ने तयारी हुँदैछ। सीएम कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शान्तकुमार श्रेष्ठ संयुक्त ठेक्कामा पार्टनरले काम नगरेपछि आफूले जिम्मा लिएको बताए। ‘अब काममा समस्या हुनेछैन, पानी परेर ढिला भएको हो, पानी रोकिनसाथ कालोपत्रको काम सुरु हुन्छ,’ उनले दाबी गरे, ‘दसैंअघि नै कालोपत्र गर्ने तयारीमा छौं ।’ अहिले कालोपत्रबाहेक काम भइरहेको उनको भनाइ छ। काम नगर्ने, पेश्की रकम लिएर काम गर्न अटेर गर्ने ठेकेदारलाई तह लगाउन पछि नहट्ने स्थानीयको भनाइ छ। 

प्रकाशित: २४ भाद्र २०७९ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App